सर्वोच्चको निर्णयविरुद्ध पुनरावलोकनमा जाने तयारीमा ओली पक्ष, पार्टी एकतामा धक्का ! — OSNepal

सर्वोच्चको निर्णयविरुद्ध पुनरावलोकनमा जाने तयारीमा ओली पक्ष, पार्टी एकतामा धक्का !

LC (KTM) June 21, 2021 0

काठमाडौँ । पार्टीको निर्देशनविपरीत कर्णाली प्रदेशसभामा ‘फ्लोर क्रस’ गरेका चार सांसदलाई गरेको कारबाही कार्यान्वयन नगर्न सर्वोच्चले दिएको आदेशविरुद्ध नेकपा एमाले पुनरावलोकन (भ्याकेट) मा जाने भएको छ । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

पार्टीको निर्देशनविपरित कर्णाली प्रदेश सरकारलाई एमालेका सांसदहरू प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले माओवादी नेतृत्वको सरकारको पक्षमा मतदान गरेका थिए ।

एमालेले उनीहरूलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो । सर्वोच्च अदालतले एमालेको महाधिवेशन आयोजक कमिटीले कारबाही गर्न नसक्ने निर्णय सुनाएको थियो । सर्वोच्चले महाधिवेशनपछिको केन्द्रीय समितिले अनुशासनको कारबाही गर्नसक्ने भए पनि महाधिवेशन आयोजक कमिटीले गरेको कारबाहीको निर्णय वैध नहुने ठहर गरेको थियो ।

सर्वोच्चको आदेशपछि ती चार जना प्रदेश सांसदहरू अहिले पदमा वहाल रहेका छन् । एमालेले सर्वोच्च अदालतको आदेशविरुद्ध पुनरावलोकन निवेदन दिने तयारी गरेको छ । एमाले नेता सुवास नेम्वाङले सर्वोच्चको आदेश संविधानविपरीत रहेकाले ‘भ्याकेट’ मा जाने तयारी गरेको बताए । उनले भने, ‘भ्याकेटका लागि वकिलहरूले तयार गर्दैछन् । आदेश संविधानको भावना अनुकूल छैन ।

त्यो बेठिक छ । संसदीय प्रणालीविपरीत छ ।’ नेम्वाङले सकेसम्म छिटै निवेदन लिएर सर्वोच्च जाने बताए । भीम रावल भन्छन् : भ्याकेटमा जान्छौँ भन्नु एकताविरोधी एमालेले निष्कासन गरेका नेता भीम रावलले संस्थापन पक्षको तयारीको आलोचना गरेका छन् । उनले अदालतको आदेशविरुद्ध भ्याकेटमा गए पार्टी एकता नचाहेको पुष्टि हुने बताए ।

नेकपाको एकता बदर गर्ने सर्वोच्चको फैसला खुसीका साथ स्वीकार गरेर अहिले एमालेको महाधिवेशनपछिको केन्द्रीय कमिटीलाई मात्रै वैध ठहर गर्ने सर्वोच्चको आदेशविरुद्ध भ्याकेटमा जान खोज्नु पार्टी एकता नचाहेको स्पष्ट हुने उनको भनाइ छ । रावले भने, ‘अदालतको एउटा फैसला जसले पार्टी विघटन गरेको छ, त्यसलाई खुसी भएर मान्ने अनि अर्को आदेश जसले नेताहरूका बीचमा रहेको कटुता बिर्सिएर अदालतको फैसला मानेर अघि बढौँ भन्न सजिलो हुन्थ्यो । त्यो कुरा नमानेर हामी भ्याकेटमा जान्छौँ भन्नु पार्टी एकता हुन दिन्नौँ भन्ने अर्थ लाग्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर