काठमाडौं । सिन्धुपाल्चोकका बाढी प्रभावितको लागि सहयोग उठ्ने क्रम जारी छ । केहीदिन अघि मात्रै नायिकाद्धय पूजा शर्मा र श्वेता खड्काले सिन्धुपाल्चोकका बाढी प्रभावितको लागि आ आफ्नो स्थानबाट सहयोग गरेर फर्किएका बेला अभिनेत्री करिश्मा मानन्धरले एक लाख रुपैयाँ सहयोगको दिने घोषणा गरेकी छन् । उनले उक्त सहयोग हालै अभिनेता कृष्ण मल्लको संयोजकत्वमा गठन बाढी प्रभावितको दीर्घकालिन व्यवस्थापनका समिति मार्फत दिन लागेको बताइएको छ ।
यस विषयमा करिश्माले सामाजिक संजालमा आँफुले गर्न लागेको सहयोगथका विषयमा जानकारी गराएकी छिन् । करिश्माले सामाजिक संजालमा स्टाटस लेख्दै भनेकी छिन् ‘सिन्धुपाल्चोकको सहयोगको लागि हिजो भएको मिटिङ अनुसार आदरणीय दाइ कृष्ण मल्लको संयोजनमा १० गते सबै कलाकारहरुको तर्फबाट आ–आफुले सक्ने सहयोग सम्बन्धित निकायलाई हस्तान्तरण गरिने निधो भएकोले सम्पूर्ण कलाकार साथीहरूलाई यो जानकारी गराए ।
अहिले कोरोनाको माहामारीको यो अवस्थामा यो नै सुरक्षित उपाय हो । साथै उठेको रकमले कमसेकम उहाँहरुलाई वर्षाको यो मौसममा ओत लाग्ने छानोको व्यवस्था हुन सकोस् । मेरो तर्फबाट रु एक लाख उपलब्ध गराउने जानकारी गराउन चाहान्छु ।’ यसअघि काठमडौँबाट कलाकार पत्रकारहरुको टोली सिन्धुपाल्चोक नै पुगेर सहयोग हस्तान्तरण गरेता पनि सरकारको तर्फबाट राहात वितरण सुस्त गतिमा भएको भन्दै चौतर्फी गुनासो आइरहेको छ ।