लमजुङ, १० साउन:
मनाङमा यार्सागुम्बा संकलनबाट ३६ लाख २९ हजार पाँच सय एक रुपैयाँ राजस्व संकलन भएको छ । मनाङमा आर्थिक वर्ष ०७८/७९ मा जङ्गली जडीबुटी संकलनबाट ४० हजार १६ हजार ६४ रुपैयाँ राजस्व संकलन भएको एक्याप मनाङले जनाएकाे छ ।
अन्नपूर्ण संरक्षण क्षेत्रमा पाइने जिम्बु, वनलसुन, गुची च्याउ, निगालो, यार्सागुम्बा जस्ता जङ्गली जडीबुटी सङ्कलन र काठ बिक्रीबाट उक्त राजस्व संकलन भएको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) मनाङका प्रमुख लेखनाथ गौतमले बताए ।
उनका अनुसार जिम्बू संकलनबाट ३९ हजार ९८, वन लसुनबाट ३४ हजार ५१२, गुची च्याउबाट १७ हजार दुई सय ३३, निगालोबाट दुई सय २१ र टिम्बुरबाट दुई लाख ९५ हजार चार सय ९९ राजस्व संकलन भएको छ । गौतमले भने, ‘आर्थिक वर्ष ०७८/७९ मा यार्सागुम्बा १०७.०५२ किलोग्राम, जिम्बु २३०६.५ किलोग्राम, वन लसुन १०१७.६५ किलोग्राम, गुची च्याउ ३०.५ किलोग्राम, निगालो १३०० पिस, टिम्बर १८६७.५८ क्युफिट बिक्री भएको छ । आर्थिक वर्ष ०७७/७८ मा मनाङमा ४०.५ किलोग्राम जडीबुटी संकलनबाट १३ लाख ९७ हजार २५० राजस्व संकलन भएको थियो ।’
मनाङको चार स्थानीय तहमध्ये सबैभन्दा बढी मनाङ ङिस्याङ गाउँपालिकाबाट जङ्गली जडीबुटी संकलन भएको उनले बताए । सबैभन्दा कम सडक सञ्जालबाट नजोडिएको नार्पाभूमि गाउँपालिकाबाट जङ्गली जडीबुटी संकलन भएको छ । आव ०७७/७८ मा कोभिड- १९ का कारण जङ्गली जडीबुटी तथा काठ बिक्री गर्न समस्या भएकाले राजस्व संकलन कमी भएको प्रमुख गौतमको भनाइ छ ।