मुम्बई । आफ्नो हत्याको धम्कीपत्र पाएका अभिनेता सलमान खानले आत्मरक्षाका लागि हतियार राख्न पाउनुपर्ने तर्क गर्दै हतियारको इजाजत दिन प्रशासनसमक्ष आवेदन गरेका छन् ।
गएको महिना ‘ग्याङस्टर’ लरेन्स बिश्नोईको गिरोहबाट आएको धम्कीपत्रलाई ध्यानमा राख्दै आत्मसुरक्षाका निम्ति हतियार लाइसेन्सका लागि उनले आवेदन गरेका मुम्बई पुलिसले जनाएको छ ।
अभिनेता खानले मुम्बईका प्रहरी प्रमुख विवेक फान्सालकरलाई भेटेर आफू र आफ्ना बुवालाई आएको मार्ने धम्कीपत्रबारे छलफल गरेका हुन् । भेटकै क्रममा उनले आत्मसुरक्षाका निम्चि हतियार लाइसेन्सका लागि आवेदन दिएका हुन् ।
गएको मे २९ मा पन्जाबको मानसा जिल्लामा पञ्जाबी गायक सिद्धु मूसवालाको गोली हानी हत्या भएपछि जुन ५ मा सलमान खान र उनका बुवा सलिम खानलाई मार्ने धम्की आएको थियो । सलिम खानको सुरक्षा टोलीले उक्त चिठी मुम्बईको बान्द्रा ब्यान्डस्ट्यान्ड प्रोमेनेडनजिकै भेटेको थियो, जहाँबाट उनी नियमित बिहानको दौडमा निस्कने गर्छन् ।
अभिनेताले हिन्दीमा प्राप्त गरेको चिठीमा सलिम खान र उनका छोरा दुवैले मारिएका गायक सिद्धु मूसवालाको जस्तै नियति भोग्ने चेतावनी दिइएको प्रहरीले जनाएको छ । महाराष्ट्र गृह मन्त्रालयबाट प्राप्त जानकारीअनुसार बिश्नोई गिरोहले अभिनेता खान र उनका बुवालाई धम्की दिनुको कारण आफ्नो ‘शक्ति देखाउनु हो’ भनेको छ ।
उक्त गिरोहले ठूला व्यवसायी र कलाकारसँग रकम असुल्ने तयारी गरिरहेको बताइएको छ । धम्कीपत्र भेटिएपछि मन्त्रालयले खानको सुरक्षा निगरानी बढाएको छ ।
मुम्बई प्रहरीको अपराध शखाले धम्कीपत्रको छानबिन गरिरहेको छ । छानबिन गर्न गएको महिना पुने गएको प्रहरी टोलीले लरेन्स बिश्नोई गिरोहका सदस्य सिद्धेश हिरामन काम्बले अर्थात् महाकालसँग सोधपुछ गरेको थियो ।