राजसंस्था र हिन्दू राष्ट्र पुनस्स्थापनाको पक्षमा राप्रपा अडिग छ : अध्यक्ष लिङदेन (प्रतिवेदनसहित) — OSNepal

राजसंस्था र हिन्दू राष्ट्र पुनस्स्थापनाको पक्षमा राप्रपा अडिग छ : अध्यक्ष लिङदेन (प्रतिवेदनसहित)

LC (KTM) July 22, 2022 0

काठमाडौं ६ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले संघीयता खारेजीको पक्षमा आफूहरु रहेको बताएको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले जारी केन्द्रीय समिति बैठकमा संघीयता खारेजीलाई मुख्य एजेण्डा बनाएर चुनावमा जाने पस्ताव समेत गरेका छन् ।

बिहिबारबाट सुरु भएको जारी केन्द्रीय समितिको बैठकमा लिङदेनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा तीन तहको संघीयतालाई खारेज गरी केन्द्र र बलियो स्थानीय तहको व्यवस्था कायम गर्नुपर्ने अडान लिएका छन् ।

उनले प्रस्तुत् गरेको प्रतिवेदनमा भनिएको छ ,आगामी संघ र प्रदेशको चुनावमा राप्रपाले यी विषयलाई जोडदार रूपमा उठाउने छ,‘समय छँदै हाल कायम संरचनागत कमी(कमजोरी र असफलतालाई सम्बोधन गर्न, विश्वव्यापी अनुभव, सफलतम प्रजातान्त्रिक अभ्यास र नेपाली आवश्यकताको आधारमा,संविधानले दिएको अधिकारको प्रयोगमा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको खारेजी आवश्यक भएको छ ।’

प्रजातन्त्रको रक्षा, भ्रष्टाचारको अन्त्य र देशमा स्थीरता कायम राख्न संविधानभित्र परिवर्तन अपरिहार्य भएको बताएका उनले राजसंस्था र हिन्दू राष्ट्र पुनस्स्थापनाको पक्षमा राप्रपा कृतसंकल्पित रहेको बताएका छन् ।

प्रतिवेदनमा अघि भनिएको छ, ‘जनताको साथमा भ्रष्टाचारको अन्त्य गर्ने, देशमा सुशासन कायम गर्ने, सनातन हिन्दू राष्ट्र र राजासहितको प्रजातन्त्र पुनस्स्थापना गर्ने लक्ष्यमा राप्रपा दृढ छ,यसै लक्ष्यका साथ राप्रपाले सडक र सदन दुवै विकल्प अनुसरण गरेको छ । देशले मागेको प्रजातान्त्रिक विकल्प उपलब्ध गर्न राप्रपा सर्वदा जनताको साथमा छ ।’

विश्वव्यापी प्रजातान्त्रिक अभ्यासको क्रममा सफल र प्रभावकारी साबित भएको अभिभावकीय संस्थाको रूपमा राजा रहने, संवैधानिक राजसंस्था सहितको प्रजातन्त्रका साथै सर्वधर्म समभाव, पूर्णधार्मिक स्वतन्त्रता सहितको सनातन धर्मसापेक्ष हिन्दू राष्ट्रको पक्षमा राप्रपा दृढ रहेको सर्वविदितै छ’ उनले भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर