हेलम्बु गाउँपालिका–७ अन्तर्गत पर्ने चनौटे बजारवासीलाई साँझ पर्नेबित्तिकै डर लाग्न थाल्छ । असार २ गतेअघि साँझ पर्नेबित्तिकै झिलिमिली देखिने सो बजार मेलम्ची खोलाको बाढीको ताण्डवले अहिले उजाड र बगरमा परिणत भएसँगै बजारवासी चिन्तित छन् ।
बजारवासीलाई तीन दिनदेखि निद्रा लागेको छैन । कुन बेला बाढी बजारमा पस्छ भन्ने चिन्ता उनीहरूलाई छ । मेलम्ची चनौटे बजार भएर बग्ने गर्दछ । चनौटे बजारमा व्यापार व्यवसाय गर्दै आएका ताराबहादुर पण्डित बजारमा बाढी आएदेखि आफूलाई निद्रा नलागेको बताउँछन् ।
उनी भन्छन्, “साँझ परेपछि खोला उर्लिन थाल्छ । पानीको बहाव बढेसँगै ढुङ्गा ठोकिएको ठल्ठूला आवाज आउने गर्दछ । मन थाम्न गाह्रो हुन्छ ।” बजारमा उनका २० वटा सटर छन् । सबै बालुवा र ढुङ्गाले पुरिएका छन् । सटरमा भएका सामानहरू अब काम नलाग्ने भएको उनको भनाइ छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
बाजे–बराजुको पालादेखि नै मेलम्चीमा यस्तो बाढी नआएको उहाँले बताउनुभयो । बाढीले बजार क्षेत्रका ५५ घरमध्ये २० घर बगाएको र करिब १० अर्ब रुपियाँभन्दा बढीको क्षति भएको उनको भनाइ छ । सोही बजारमा हेलम्बु मोटरसाइकल वर्कसप सञ्चालन गर्दै आएका सन्देश तामाङले ग्राहकको चारवटा मोटरसाइकलसहित पसलका सबै सामान बगाएको बताए । उनी भन्छन्, “असार २ गते साँझ ७ बजेतिर खोलामा ठूलो आवाजसँगै करिब १० मिटरजति उचाइको बाढी आयो । एकछिनमा नै पूरा बजार पानीले भ७थभलसयो । मानिसमा रुवाबासी र भागाभाग भयो ।”