ओखलढुङ्गामा चक्रपथ र पुल निर्माणको काम समय अगावै सम्पन्न — OSNepal

ओखलढुङ्गामा चक्रपथ र पुल निर्माणको काम समय अगावै सम्पन्न

LC (KTM) June 18, 2021 0

ओखलढुङ्गा- विकास निर्माणका आयोजना वर्षौँ अलपत्र पर्ने समस्या रहेको ओखलढुङ्गामा दुई वटा योजना समय अगावै सम्पन्न भएका छन् । निर्वाचन क्षेत्रस्तरीय चक्रपथ र सिस्नेखोला पुल निर्माणको काम सक्नुपर्ने समयभन्दा एक वर्ष अगावै सम्पन्न भएका हुन् ।प्रदेश १ का भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले जिल्लाबाट निर्वाचित भएपछि रोजेको उच्चस्तरीय चक्रपथ निर्माणको योजनाअन्तर्गत निर्वाचन क्षेत्र नं १ उच्चस्तरीय चक्रपथको पहिलो खण्ड रुम्जाटार–सानीटार– वनपाले–बुलादी–देउराली–फेदे सडक तीन वर्षमा बनाइसक्ने गरी महालक्ष्मी कन्स्ट्रक्सन कन्सर्न प्रालि बालाजु काठमाडौँले ठेक्का लिएको थियो । विसं २०७८ पुस २१ गतेसम्म म्याद राखेर २०७६ पुस २० गते ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले नौ दशमलव आठ किलोमिटर सडक निर्माणको काम थालेको डेढ वर्ष नपुग्दै सम्पन्न गरेको छ ।

करिब रु १५ करोड ६३ लाखमा ठेक्का लिएको सडक चौडाइ गरेर ग्राभेल गर्ने काम तीन वर्षको समय हुँदा पनि डेढ वर्षभित्रै सकेर नेपाल सरकारलाई हस्तान्तरण गरेको निर्माण व्यवसायी तेजबहादुर भुजेलले बताउनुभयो । महालक्ष्मी कन्स्ट्रक्सनले ठेक्का लिएका पूर्वाधार निर्माणका कामहरु सबै समयअगावै सक्ने गरिएको उहाँको भनाइ छ । “यो त मन्त्रीज्यूले थालेको गौरवको योजना सकेसम्म राम्रो काम गरेर छिटो सम्पन्न गर्नुपर्ने दवाव थियो नै । हाम्रो कम्पनीले यसअघि दोलखासहितका अन्य ठाउँमा जिम्मा लिएका काम पनि नेपाल सरकारले दिएको समयभन्दा अगाडि नै सम्पन्न गर्दै आएको छ”, उहाँले भन्नुभयो, “ढिलो गरेर कम्पनीको बदनाम गराउनु, जरिवाना तिर्नुभन्दा छिटोछिटो काम सकेर ‘बोनस’ खाने हाम्रो नीति छ । काम थालेपछि रफ्तारमा गर्छौँ । सकाएर सरकारलाई बुझाउँछौँ ।’ समय तालिका बनाएर निरन्तर काम गर्दा ठेक्कामा तोकिएको समयभन्दा अगावै काम गर्न सकिने उहाँको भनाइ छ ।

जिल्लाको सिस्ने खोला पुल पनि समयभन्दा एक वर्षअघि नै निर्माण सम्पन्न भएको छ । मिलनचोक सपनावति रुम्जाटार सडकखण्डअन्तर्गत सिस्ने खोलामा दुई वर्षमा बनाइसक्ने गरी ठेक्का लागेको पुल एक वर्ष नपुग्दै निर्माण सम्पन्न भएको हो । के.एम. इन्जीनियर्स विल्डर्स प्रालि काठमाडौँले २०७९ साल असार २४ गते निर्माण सम्पन्न गर्ने गरी २०७७ असार २५ नेपाल सरकारसँग ठेक्का सम्झौता गरेको थियो । दुई वर्षभित्र सम्पन्न गर्ने गरी जिम्मा लिएको ३५ मिटर लम्बाइ र ८.४ मिटर चौडाइको प्रिस्टेस आरसिसी पुल एक वर्षभित्रै निर्माण सम्पन्न गरिएको ठेकेदार कम्पनीका मोहन कार्कीले बताउनुभयो ।

“ठेक्का सम्झौता गरेको एक वर्ष हुन केही दिन अझै बाँकी छ । सक्नुपर्ने समय अझै एक वर्ष छ तर हामीले काम सकेर नेपाल सरकारलाई हस्तान्तरण गर्ने तयारी गरेका छौँ”, निर्माण व्यवसायी कार्कीले भन्नुभयो, “शिलान्यास गरेर काम थालेका दिनदेखि कुनै दिन काम रोकिएन । प्रदेश १ का भौतिक पूर्वाधारमन्त्रीज्यूको निरन्तर अनुगमन निरीक्षण भइरह्यो । बजेट पनि समयमै निकासा भएपछि काम बेलैमा सक्न हामीलाई सजिलो भयो ।”

निर्माण व्यवसायीले ढिलासुस्ती गर्ने समस्या देखाउँदा निर्माण जगत् नै बदनाम बनेको भन्दै आफूहरु समयअगावै काम सकेर पुरस्कृत हुने नीतिका साथ लागिपरेको कार्कीको भनाइ छ । ठेक्का सम्झौतापछि उक्त योजनाका लागि विनियोजित बजेट अन्यत्र खर्च नगरी त्यसैमा लगाएर काम गर्दा समयमै सकिने उहाँको अनुभव छ ।
प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालयले कार्यान्यन गरिरहेका दुवै आयोजना सम्झौताअनुसार निर्माण सम्पन्न भएपछि शुक्रबार प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री गुरुङले एकै पटक दुवै योजना उद्घाटन गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर