पाल्पाको रिब्दीकोट गाउँपालिकाले अभिभावक गुमाएका बालबालिकालाई पढाउने — OSNepal

पाल्पाको रिब्दीकोट गाउँपालिकाले अभिभावक गुमाएका बालबालिकालाई पढाउने

LC (KTM) July 11, 2022 0

पाल्पा, २७ असार -पाल्पाको रिब्दीकोट गाउँपालिकाले अभिभावकविहीन बालबालिकालाई कक्षा १२ सम्म पढाउने भएको हो । अभिभावकविहीन कतिपय बालबालिकाले शिक्षा माध्यमिक तहसम्म पूरा गर्न सकेका छैनन् । शिक्षा आर्जनबाट वञ्चित ती बालबालिकाका लागि गाउँपालिकाले अभिभावकीय भूमिका निभाउन लागेको हो । शिक्षाबाट वञ्चित हुनुपर्ने बाध्यता हटाउन गाउँपालिकाले नीतिगतरुपमा व्यवस्था गर्न लागेको छ । अभिभावक गुमाएकै कारण आर्थिक बोझले शिक्षाबाट वञ्चित रहेकालाई पढाउन लागिएको गाउँपालिकाका अध्यक्ष नारायण कार्कीले बताउनुभयो ।

अभिभावक गुमाएका तथा अभिभावक हराएका परिवारका सन्तानले विद्यालय शिक्षा पूरा नगरी कक्षा छाड्न बाध्य भएका छन् । विशेषगरी छोरा रोजगारीका लागि जाने तथा छोरी आफन्तकहाँ आश्रय लिनुपर्ने अवस्था छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवन अर्यालका अनुसार अभिभावक विहीन बालबालिकाको तथ्याङ्क सङ्कलन गर्न थालिएको छ । तथ्याङ्क सङ्कलन भएपछि काम अगाडि बढ्नेछ ।

गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रम गापास्तरीय एक नमूना विद्यालय निर्माण गरिनेछ । हाल नेपाली माध्यममा मात्र पठनपाठन हुँदै आएकामा विद्यालय शिक्षालाई गुणस्तरीय र समयसापेक्ष बनाउन अङ्ग्रेजी र मातृभाषामा शिक्षा दिने बहुभाषिक नीति अवलम्बन गरिने छ । गाउँपालिकाभित्रका विद्यालयमा घट्दै गएको विद्यार्थीको सङ्ख्या बढाउन शिक्षालाई गुणस्तरीय र शिक्षकको मनोबल वृद्धि गर्न पालिकामा उत्कृष्ट हुने शिक्षकलाई सम्मानसमेत गर्ने नीति गाउँपालिकाको रहेको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर