खोटाङ- हत्यारालाई समयमै पक्रिएको भन्दै मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालय खोटाङलाई सम्मान गरेका छन् । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानी घर भई हाल सुनसरीको इटहरी बस्दै आउनुभएकी ७७ वर्षीया तुलसा खड्काको ह त्यामा संलग्न दोषी आफ्नै नाति हरि भनिने नीरकुमार खड्कालाई प्रहरीले समयमै पक्राउ गरेको भन्दै मृतकका आफन्तले प्रहरीलाई सम्मान गरेका हुन् ।
जाहेरी परेको २१ दिनमा हत्यारालाई पक्रन सफल प्रहरीलाई मृतककी भतिजी लक्ष्मी सापकोटाले आज जिल्ला प्रहरी कार्यालय खोटाङमा आएर प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्साललाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।
नेपालमा घटेका कतिपय घटनामा संलग्न दोषी पत्ता नलागिरहेको अवस्थामा खोटाङ प्रहरीले चाँडै अपराधी पक्राउ गरेर मृतकको आत्मालाई शान्ति हुने काम गरेकाले हौसलास्वरूप सम्मान गरिएको सापकोटाले बताउनुभयो ।
मृतकका आफन्तले प्रदान गरेको सम्मानपत्र ग्रहण गर्दै प्रहरी नायब उपरीक्षक लम्सालले नागरिक र प्रहरीको राम्रो समझदारी हुने हो भने समाजमा हुने गरेका हरेक घटनाका दोषी चाँडै पत्ता लाग्ने बताउनुभयो । उक्त घटनामा पनि नागरिकको राम्रो साथ मिलेका कारण दोषीलाई चाँडै कानूनी कठघरामा ल्याउन प्रहरी सफल भएको उहाँको भनाइ छ ।
गत वैशाख ३० गते स्थानीय तहको निर्वाचनमा मतदान गर्न भन्दै नातिले हजुरआमालाई साथमा लिएर सुनसरीबाट वैशाख २६ गते खोटाङतर्फ हिँडेका थिए । नातिसँगै हिँड्नुभएकी तुलसाको शव वैशाख ३१ गते खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेराको पानीटारस्थित सुनकोसी नदीको बगरमा खाल्डोभित्र शङ्कास्पद अवस्थामा फेला परेको थियो ।
घटनापश्चात् फरार रहेका नाति नीरकुमारलाई १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरको प्राविधिक सहयोगमा असार ८ गते झापाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको थियो । लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ परेका नीरकुमारलाई प्रहरीले यही असार ९ गते दिक्तेलस्थित कार्यालयमा ल्याएर सार्वजनिक गरेको थियो ।
हजुरआमाको ह त्या गरेको भन्दै नीरकुमारविरुद्ध जेठ १८ गते जिल्ला प्रहरी कार्यालय खोटाङमा कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी दर्ता भएको थियो । पक्राउ परेका कारण नीरकुमारले हजुरआमाको हत्या पारिवारिक विवादका कारण गरेको बताएपछि उनलाई कानूनी कारवाही सुरु गरिएको प्रहरी नायब उपरीक्षक लम्सालले बताउनुभयो ।