गण्डकी- एबिसी टेलिभिजनकर्मी पत्रकार गीता रानामगरले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा ‘बिरामी कुरुवा बेड’ सहयोग गर्नुभएको छ ।
स्व भाइ कुलदीप रानामगर (अर्जुन) को सम्झनामा पत्रकार रानामगरले प्रसूति तथा स्त्रीरोग भवनको शिशु वार्डमा तीन थान बिरामी कुरुवा बेड सहयोग गर्नुभएको हो । बिरामी कुरुवा बेड उहाँले अस्पतालका निर्देशक प्रा डा भरतबहादुर खत्रीलाई हस्तान्तरण गर्नुभयो ।
हस्तान्तरण कार्यक्रममा पत्रकार रानामगरले स्व भाइको सम्झनामा अस्पतालको शिशु वार्डमा बेड आवश्यकता महसुस गरी सहयोग गरेको बताउनुभयो । भाइ सानै उमेरमा सम्झनामै सीमित भएको स्मरण गर्दै उहाँले त्यही बच्चा वार्डमा बिरामी कुरुवालाई सहज हुन्छ भन्ने उद्देश्यका साथ सहयोग गरिएको बताउनुभयो ।
अस्पतालका निर्देशक प्रा डा भरतबहादुर खत्रीले सहयोगका लागि आभार व्यक्त गर्नुभयो । अस्पतालमा विशेष गरी फलामका कुर्ची तथा बेन्च सहयोग आउने बताउँदै उहाँले ती टिकाउ नहुने धारणा राख्नुभयो । सहयोगीलाई काठले बनेका सामग्री प्रदान गर्नसमेत उहाँले सुझाव दिनुभयो ।
स्याङ्जाको पुतलीबजार नगरपालिका–७ बुढीलेकका पत्रकार रानामगरका भाइ स्व कुलदीप रानामगर (अर्जुन) ले सात वर्षको कलिलो उमेरमा ज्यान गुमाएका थिए ।
–––