दमौली, ४ असार- कोभिड–१९ विरुद्ध जुध्न हेफर इन्टरनेशनल नेपालले तनहुँको चार स्थानीय तहमा रु २७ लाख सहयोग गरेको छ । हेफर इन्टरेनशनले आफ्नो कार्यक्रम सञ्चालन भएका पालिकाको कोभिड कोषमा आर्थिक सहयोग गरेको हो ।हेफरले देवघाट गाउँपालिकालाई रु १५ लाख, भिमाद नगरपालिकालाई रु चार लाख, व्यास नगरपालिकालाई रु चार लाख र शुक्लागण्डकी नगरपालिकालाई रु चार लाख सहयोग गरेको छ । महिला समूह समन्वय समिति, चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्था र समृद्धिको लागि त्रिपक्षीय आयोगलगायतका तीन संस्थाको सहकार्यमा कोभिडविरुद्ध जुध्नका लागि देवघाटलाई रु १५ लाख सहयोग गरिएको संस्थाका चितवन जिल्ला क्लष्टर प्रबन्धक कृष्णबाबु कट्टेलले जानकारी दिनुभयो ।
उक्त रकम अक्सिजन सिलिण्डर, लिक्विड अक्सिजन, अक्सिजन कन्सन्ट्रेटर, भेन्टिलेटर, आइसीयू, एक्सरे मेसिन, आइसोलेशन तथा कोभिड अस्पताल निर्माण, स्वास्थ्य सामग्री खरिदमा खर्च गर्नुपर्ने उहाँले बताउनुभयो । देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले कोभिड नियन्त्रणका लागि गैरसरकारी संस्थाको तर्फबाट ठूलो रकम सहयोग प्राप्त भएको भन्दै संस्थाप्रति आभार व्यक्त गर्नुभयो । थापाले हेफरसँग सहकार्य गरेर गाउँपालिका अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यसैगरी भिमाद नगरपालिकालाई रु चार लाख हस्तान्तरण गरिएको छ । माझकोट महिला बहुउद्देश्यीय सहकारी संस्था, अतिप्रिय सामाजिक उद्यमी सहकारी संस्था, अरुणोदय सामाजिक उद्यमी महिला सहकारी संस्थाको तर्फबाट नगरप्रमुख मेखबहादुर थापालाई उक्त रकमको चेक हस्तान्तरण गरिएको हो । माझकोटकी अध्यक्ष सङ्गीता राना, अतिप्रियकी अध्यक्ष देवी मोक्तान आले र नेपाल एकीकृत ग्रामीण विकास केन्द्रकी अध्यक्ष मनुमाया श्रेष्ठले नगरप्रमुख मेखबहादुर थापालाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो ।
हेफर इन्टरनेशनल नेपालका कार्यक्रम अधिकृत सन्त भट्टराईले सामाजिक उत्तरदायित्व वहन गर्दै हेफरको कार्यक्रम सञ्चालित पालिकामा सहयोग गर्न पाएकामा खुशी व्यक्त गर्नुभयो । नगरप्रमुख थापाले हेफरको सहयोगप्रति आभार व्यक्त गर्दै प्राप्त रकम कोभिड सङ्क्रमितको उपचारमा खर्च गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस्तै हेफर इन्टरनेशनल नेपाल, नेपाल एकीकृत ग्रामीण विकास केन्द्र तनहुँ र आधारशीला सामाजिक महिला उद्यमी सहकारीको त्रिपक्षीय साझेदारीमार्फत व्यास नगरपालिकालाई रु चार लाख हस्तान्तरण गरिएको छ । हेफरका कार्यक्रम अधिकृत भट्टराई, नेपाल एकीकृत ग्रामीण विकास केन्द्रकी अध्यक्ष श्रेष्ठ र सहकारीका प्रबन्धक नवीन सुर्खालीले उक्त रकमको चेक नगरप्रमुख वैकुण्ठ न्यौपानेलाई हस्तान्तरण गर्नुभयो ।
नगरप्रमुख न्यौपानेले हेफरको सहयोगप्रति आभार व्यक्त गर्दै प्राप्त रकम कोभिड सङ्क्रमितको उपचारमा खर्च गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले हेफरजस्तै अन्य गैरसरकारी संस्थाबाट पनि सहयोगको अपेक्षा गरिएको बताउनुभयो । यसैगरी हेफर नेपाल, नेपाल एकीकृत ग्रामीण विकास केन्द्र तनहुँ र दिदीबहिनी महिला सहकारी थप्रेकको त्रिपक्षीय साझेदारीमार्फत शुक्लागण्डकी नगरपालिकालाई रु चार लाख सहयोग गरिएको छ । नगरपालिकाका उपप्रमुख सविता रसाइलीले सहयोगलाई सही सदुपयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
हेफर इन्टरनेशन र नेपाल एकीकृत ग्रामीण विकास केन्द्रको साझेदारीमा तनहुँमा तीन वर्षदेखि पशु वस्तुको मूल्यशृङ्खलामा आधारित साना किसानको संस्था सवलीकरण परियोजना कार्यक्रम सञ्चालित छ । नेपाल एकीकृत ग्रामीण विकास केन्द्रका कार्यक्रम संयोजक प्रेमप्रसाद पौडेलले महामारीका रूपमा फैलिएको कोरोना न्यूनीकरणका लागि गैरसरकारी संस्थाको तर्फबाट सहयोग गर्न पाएकामा खुशी व्यक्त गर्नुभयो । पौडेलका अनुसार लमजुङको मध्यनेपाल नगरपालिका र सुन्दरबजार नगरपालिकालाई पनि रु चार÷चार लाख र मस्र्याङ्दी गाउँपालिकालाई रु दुई लाख सहयोग गरिनेछ । (रासस)