काठमाडौं २१ असार । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पाँच दलीय गठबन्धनलाई उडिरहेको जहाजसँग तुलना गरेका छन् ।
कांग्रेस सभापति स्व।गिरिजाप्रसाद कोइरालाको शालिक अनावरणका अवसरमा बोल्दै उपसभापति गुरुङले सुरक्षित अवतरण नहुँदै जहाजभित्र आपसी झगडा सुरु भएको प्रति आपत्ती जनाएका हुन् ।
‘स्थानीय तहको निर्वाचनका क्रममा पाँच दल एउटै जहाज चड्यौं । जहाज आकाशमै उडिरहेको छ । यसलाई कसरी सुरक्षित अवतरण गर्ने भनेर चिन्ता गरिरहेको बेलामा जहाजभित्रै बसेर ङ्यारङ्यार ङुरङुर गर्न हुन्न भन्ने मेरो ठहर छ ।’ गुरुङले भने ।
जहाजलाई जसरी पनि सुरक्षित अवतरण गर्नुपर्नेमा जोड दिएका उनले ल्यान्ड गर्ने बेला कसैले कांग्रेस इमान्दार भएन भन्ने कुरा गरिरहेको प्रति चिन्ता व्यक्त गरेका छन् ।
उडिरहेको जहाजमाथि झगडा सुरु गर्ने काम भइरहेको बताएका उनले मिसन पूरा नहुँदै यसरी आरोप प्रत्यारोप गर्नु अपरिपक्व राजनीति भएको बताएका छन् ।