चलचित्र‘ प्रसाद २’ को घोषणा, निश्चल बस्नेतको ठाउँमा अर्पण थापाको प्रवेश — OSNepal

चलचित्र‘ प्रसाद २’ को घोषणा, निश्चल बस्नेतको ठाउँमा अर्पण थापाको प्रवेश

LC (KTM) July 03, 2022 0

काठमाडौं :

सुदर्शन थापाको निर्देशनमा सामाजिक र प्रेमकथामा आधारित चलचित्र ‘प्रसाद २’ निर्माण हुने भएको छ । राजधानीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत यसअघि प्रदर्शनमा आएको ‘प्रसाद’ को सिक्वेल रुपमा यो चलचित्र बन्ने जनाइएको छ । निर्देशक थापाले चलचित्र विशुद्ध सिक्वेलका रुपमा आउने बताए । यसअघि रोमान्टिक चलचित्र बनाउने निर्देशकको रुपमा परिचित उनले आफूले नयाँ ढंगबाट यसलाई हेरेको भनाइ राखे ।

थापाले अघिल्लो चलचित्रको कथा सकिएकै ठाउँबाट नयाँ शृंखला सुरु हुने बताए । उनका अनुसार यसपटक छुवाछूतको कथावस्तु नभएर मुख्य पात्रहरु बाबुराम र नारायणीको जीवनमा आउने सामाजिक र पारिवारिक द्वन्द्वलाई प्रस्तुत गरिने छ ।सौर्य दैपिनकमा खबर छ । बाबुरामको भूमिकामा अभिनेता विपिन कार्की र नारायणीको भूमिकामा अभिनेत्री नम्रता श्रेष्ठ रहने जनाइएको छ । चलचित्रमा यी दुईलाई अन्तरजातीय दम्पत्तिको रुपमा चित्रण गरिएको निर्माण पक्षले जनाएको छ । चलचित्रमा यसपटक अभिनेता निश्चल बस्नेतको ठाउँमा अभिनेता अर्पण थापाको प्रवेश भएको छ । यस्तै अभिनेता राज कटुवालको समेत चलचित्रमा प्रमुख भूमिका रहने जनाइएको छ ।

कथाकार सुशील पौडेलले ब्याज खाने किसिमले चलचित्र निर्माण गर्न नलागेको जनाउँदै यसले प्रसादकै लिगेसीलाई निरन्तरता दिने जिकिर गरे । उनका अनुसार कन्टेन्टलाई अघि बढाएर सिक्वेलकै रुपमा ल्याउने लक्ष्य राखिएको छ । पौडेलले भने, ‘यसपटक पात्र गाउँ पुगेपछि आउने उतारचढावमा चलचित्र केन्द्रित रहने छ ।’

अभिनेत्री नम्रताले चलचित्रमा यसपटक आफ्नो भूमिका परिपक्व खालको हुने बताइन् । पत्रकार भेटघाटमा कलाकारले आ–आफ्नो चरित्र चित्रणका बोलेका थिए । यस्तै अभिनेता विपिनले बाबुराम पात्रलाई मन पर्नेमध्येको एक भन्दै आफूले गरेका गम्भीर चलचित्रमध्ये ‘प्रसाद २’ को स्थान महत्वपूर्ण हुने भनाइ राखे । उनले भने, ‘पहिलोपटक फिल्म गर्न लागेजस्तो ढुकढुक भएको छ । प्रसादको साख जोगाउने प्रयास गरेको छु । यसपटक बाबुराम पात्र परिपक्व भएको छ ।’

निर्देशक थापाले चलचित्र प्रसादको सिक्वेल भएकाले नयाँ रोचक केही गर्न सकिन्छ कि भन्ने लागेर निर्देशनमा हात हालेको बताए । उनले अभिनेता बस्नेतले प्रोजेक्ट छाडेको कारणबारे आफूलाई जानकारी नभएको सुनाए । संगीतकार राजनराज सिवाकोटीले ‘प्रसाद २’ का गीतले दर्शकको मन छुनेमा आफू विश्वस्त रहेको भनाइ राखे । आगामी असार २१ गतेबाट छायांकनमा जाने तयारी जुटेको यो चलचित्रको निर्माण केशव पाण्डेले गर्दैछन् । कास्कीको याम्जाकोटबाट छायांकन थालिने निर्माण पक्षले जनाएको छ ।

छायांकनअघि कलाकारलाई लिएर बागलुङको रीघा गाउँमा त्यहाँको आञ्चलिकता बुझ्नेबारे कार्यशालासमेत गरिने भएको छ । निर्माण पक्षका अनुसार चलचित्र तिहारमा प्रदर्शनमा ल्याउने योजना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर