जनता समाजवादी पार्टी जसपा बिभाजनको संघारमा पुगेको छ । पार्टीका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव अलग हुने स्थितिमा पुगे संगै पार्टी नै बिभाजनमा जाने संकेत मिलेको हो । नेता यादवले सहमति बिना एक्लौटि ढंगबाट पार्टी चलाउन खोजेको भन्दै बिगत एक बर्ष देखी नै भट्टराई पक्ष संघर्षको अवस्थामै रहेको थियो ।
बुधबार यी दुई नेताबीच भएको भेटले आपसी मतभेद कम गर्नुको सट्टा झनै अविश्वास बढाएको नेताहरुको बुझाई छ । पार्टीले यहि असार २७–२८ मा वीरगञ्जमा बोलाएको केन्द्रीय समितिको बैठकमा जसपा विभाजनको औपचारिक घोषणा हुनसक्ने जसपाका एक केन्द्रिय सदस्यले बताएका छन् । गत साउनमा महन्थ ठाकुर पक्षलाई अल्पमतमा पार्ने बेला एक ठाउँमा उभिएका यादव र भट्टराई पक्षबीच झण्डै एक वर्षदेखि विवाद चलिरहेको थियो । स्थानीय चुनावअघि नै भट्टराई पक्षले पार्टी बिभाजन गर्ने भेउ थाहा पाए पछि यादवले जसोतसो टालटुल गरेका थिए ।
चुनावकै बेला बहुमत जुटाउने नभए केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत जुटाएर नयाँ पार्टी बनाउने तयारी भट्टराई पक्षको थियो । पार्टी सञ्चालनका लागि भट्टराई र वरिष्ठ नेता अशोक राईलाई राखेर हेडक्वार्टर बनाउने तथा स्थानीय चुनावको उम्मेदवारको टिकटमा हस्ताक्षर गर्ने अधिकार राईलाई दिन सहमत भएपछि तत्काल बिभाजनको अवस्था टरेको थियो ।