काठमाडौं १६ असार । नेकपा एकिकृत सामाजवादी पार्टी अध्यक्ष माधव नेपालले सरकारमा सहभागी भएका नयाँ मन्त्रीहरुलाई पार्टीको शिर उँचो हुनेगरी काममा खटिन निर्देशन दिएका छन् ।
नवनियुक्त मन्त्रीहरूलाई पार्टी कार्यालयमा सरकार सञ्चालनबारे प्रशिक्षणमूलक निर्देशन दिँदै नेपालले यस्तो निर्देशन दिएका हुन् ।
देश र जनताको हितलाई केन्द्रमा राखेर इमानदारीपूर्वक काम निर्देशन दिएका नेपालले भने , ‘तपाईँहरूले जनतामा सकारात्मक छाप पर्ने गरी र पार्टीको शिर उँचो हुनेगरी काममा खटिनुपर्छ । जसले गर्दा सरकारको इज्जत बढोस् त्यसका लागि पारदर्शीरूपमा काम गर्नुहोस्’।
संविधान र कानूनविपरीत कुनै पनि काम नगर्न निर्देशन दिएका उनले पार्टीको नीति, निर्देशनविपरीत नजान पनि ध्यानाकर्षण गराएका छन् ।
सरकारमा सहभागी भएका नयाँ मन्त्रीहरुमा पर्यटनमन्त्रीमा जीवनराम श्रेष्ठ, सहरी विकासमा मेटमणि चौधरी, स्वास्थ्यमन्त्रीमा भवानीप्रसाद खापुङ, श्रममा शेरबहादुर कुँवर र स्वास्थ्यराज्यमन्त्रीमा हिराचन्द्र केसी रहेका छन् ।