चपली सबस्टेसनको ट्रान्सफर्मरमा समस्या, बूढानीलकण्ठ क्षेत्रको विद्युत् आपूर्ति बन्द — OSNepal

चपली सबस्टेसनको ट्रान्सफर्मरमा समस्या, बूढानीलकण्ठ क्षेत्रको विद्युत् आपूर्ति बन्द

LC (KTM) June 29, 2022 0

काठमाडौँ-बूढानीलकण्ठ नगरपालिकाको चपलीस्थित चपली सबस्टेशनको पावर ट्रान्सफर्मरमा समस्या आएको छ । सबस्टेशनमा रहेका १०÷१० एमभिए क्षमताका तीनवटा ट्रान्सफर्मरमध्ये एउटामा आज बिहान ५ बजेतिरबाट समस्या देखिएको हो ।

ट्रान्सफर्मरमा समस्या आउँदा टोखा, मण्डीखाटार, बाँसबारी, धापासी हाइट, बूढानीलकण्ठ, तारेभिर, झोर लगायतका क्षेत्रमा विद्युत् आपूर्ति बन्द छ । उक्त ट्रान्सफर्मरबाट पाँचवटा फिडर निकाली ती क्षेत्रमा विद्युत् आपूर्ति हुँदै आएको थियो । नेपाल विद्युत् प्राधिकरण महाराजगञ्ज वितरण केन्द्र प्रमुख प्रज्वलमान श्रेष्ठले सम्भव भएका स्थानमा अन्य सबस्टेशनबाट वैकल्पिक व्यवस्था गरी विद्युत् आपूर्ति गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार, समस्या देखिएको ट्रान्सफर्मरलाई हटाएर जगेडामा रहेको ट्रान्सफर्मर जडान गर्न लागिएको छ । नयाँ ट्रान्सफर्मर जडान जतिसक्दो छिट्टो सम्पन्न गरी विद्युत् आपूर्ति सञ्चालन गर्न टोली परिचालन भएको श्रेष्ठले बताउनुभयो ।

यस्तै, प्राधिकरणको बलम्बु फिडरअन्तर्गत प्रवाह हुने बिजुलीमा समेत सामान्य पानी पर्ने बित्तिकै समस्या हुने गरेको छ । विशेषगरी चन्द्रागिरि नगरपालिका–१, २ र १२ मा बढी समस्या देखिने गरेको छ । समस्या समाधानका लागि पटकपटक स्थानीयवासीले प्राधिकरणको बलम्बु फिडरलाई आग्रह गरे पनि प्रभावकारी सुनुवाइ नगरेको गुनासो गरेका छन् । कुलेश्वर वितरण केन्द्र मातहत रहने गरी बलम्बु फिडरले काठमाडौँको पश्चिम क्षेत्रको बिजुली प्रवाहको व्यवस्थापन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर