काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल राहत सामग्रीसहित मनाङ गएका छन् । गृहमन्त्रालयको समन्वयमा नेपाली सेनाको हेलिकोप्टरको व्यवस्थापन गरेर मुख्यमन्त्ती पोखरेलसहितको टोली मनाङ गएको हो ।
उनको साथमामन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ र सांसद चिन्तबहादुर घले पनि औषधि, खाद्य सामग्री र टेन्ट लिएर सँगै गएका छन् । प्रदेशवासीको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै उनीहरूको उचित व्यवस्थापनका लागि आफू प्रतिबद्ध रहेको मुख्यमन्त्री पोखरेलले बताए ।
अविरल वर्षाले मनाङमा प्रभु बैंक र प्राइम कमर्सियल बैंकका भवन, वडा नम्बर ५ को कार्यालय, थोंचे स्वास्थ्य चौकी, लघु जलविद्युत् आयोजनाका साथै धारापानीका पाँचवटा होटल बगाएका थिए । मनाङको ङावलमा पहिरोले मर्स्याङ्दी नदी थुनिएपछि चामेका करिब ६० घर र तालगाउँका ४८ घरधुरी डुवानमा परेका थिए । डुवानपछि त्यहाँका तीन सय परिवार विस्थापित भएका छन् ।