काठमाडौं –
भारतीय अभिनेता ब्रह्मानन्दमले नेपाली फिल्म ‘ह्रस्वदीर्घ’मा अभिनय गर्ने भएका छन् । ब्रह्मानन्दमलाई महंगो पारिश्रमिकमा अनुबन्धित गरिएको जनाइएको छ ।निर्माण कम्पनी नीता फिल्म्स र ब्रह्मानन्दमबीच लिखित सम्झौता भइसकेको छ ।
एक हजारभन्दा बढी फिल्ममा अभिनय गरेर गिनिज बुकमा विश्व कीर्तिमान राखेका ब्रह्मानन्दमले भारतको सर्वोच्च नागरिक सम्मान पद्मभूषण समेत प्राप्त गरेका छन् । । तमिल र तेलुगू फिल्ममा समेत अभिनय गरेका उनी अभिनयको ‘कमिक एक्सप्रेसन’बाट चर्चित छन् ।
यसअघि यो फिल्ममा सुनिल बर्मा, प्रदीपराज रावत, एक्टर अली समेत अनुबन्धित भइसकेका छन् । फिल्मलाई बलिउड छायांकार कवीरलालले खिच्ने पक्का भइसकेको छ ।नेपाल र भारतमा खिचिने ‘ह्रस्वदीर्घ’मा धनन्जय घलानी कास्टिङ निर्देशक छन् ।
नेपाली कलाकारहरु हरिहर अधिकारी, सरोज खनाल र सलोन बस्नेत पनि फिल्मको मुख्य भूमिकामा छन् । अभिनेत्री नीता ढुंगानाले निर्माण गर्न लागेको यो फिल्ममा ब्रह्मानन्दम देखिन लागेको निर्देशक चन्द्र पन्तसँगको तस्वीरमार्फत जानकारी दिइएको छ ।