रुपन्देही- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले जनताको बहुदलीय जनवादका कारण नेपाली कम्युनिष्ट आन्दोलनले नयाँ उचाइ प्राप्त गरेको बताउनुभएको छ ।जननेता मदनकुमार भण्डारीको ७१औँ जन्म जयन्तिका अवसरमा प्रेस चौतारी नेपाल रुपन्देहीले आज तिलोत्तमामा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उहाँले मदन भण्डारीले विचारको भण्डार सुम्पिएर जानुभएको उल्लेख गर्दै जनताको बहुदलीय जनवाद नभएको भए नेपालमा कम्प्युनिष्ट आन्दोलनले यति उचाइ प्राप्त गर्न नसक्ने उल्लेख गर्नुभयो ।
पाँचाँै महाधिवेशनमा पार्टीको नीति र सिद्धान्त कस्तो हुने भन्ने विषयमा व्यापक छलफल पश्चात मतदानमार्फत जनताको बहुदलीय जनवाद पारित भएको स्मरण गर्दै उहाँले जबजको धेरै ठूलो अर्थ भएको चर्चा गर्नुभयो । “हामी अभिव्यक्ति स्वतन्त्रतालाई सम्मान गर्छौँ । अभिव्यक्ति स्वतन्त्रताले गल्ती गर्नबाट जोगाउँछ”, उहाँले भन्नुभयो ।जनताको अनुमोदनमा मात्रै पार्टी शासन सत्तामा रहन सक्छ भन्ने कुरामा स्पष्ट रहँदै आवधिक निर्वाचनमा जाने मान्यतालाई जबजले आत्मसात गरेको बताउनुभयो ।
नेपालको श्रमजीवी वर्गले विभिन्न चुनौतीको सामना गर्ने क्रममा नयाँ खोजीको आवश्यकता महसुस गरी वर्ग सङ्घर्ष र व्यवहारिक प्रयोगका सन्दर्भमा यो मार्गदर्शन आएको उहाँको भनाइ छ ।
कायक्रममा एमालेको लुम्बिनी प्रदेश प्रचार विभागका प्रमुख डिआर घिमिरेले जनताको बहुदलीय जनवादका १४ बुँदामा संविधानको सर्वोच्चता, बहुलवादी खुला समाजसहित मानव अधिकार अभिव्यक्ति स्वतन्त्रताको विषयलाई जोड दिइएको बताउनुभयो ।
लेखक ऋषि आजादले पार्टीमा चित्त नबुझेका कुरा निर्धक्क राख्न पाउनुपर्ने वातावरण निर्माण गर्नुपर्ने बताउँदै बोेल्न नदिँदा पार्टी बिग्रने भएकाले यसमा नेतृत्व सचेत हुनुपर्ने धारणा राख्नुभयो ।
कार्यकममा बुद्धिजीवी लीलाबल्लभ ढकाल, आर्थिक अनुसन्धान केन्द्रका अध्यक्ष हुमराज भुसालले जबजलाई टेकेर एमालेले नीति कार्यक्रम निर्माण गर्ने गरेको बताउनुभयो ।
कार्यक्रममा प्रेस चौतारी रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेल, उपाध्यक्षद्वय बिपी गौतम, भगवती पाण्डे लगायतले जनताको बहुदलीय जनवादमा अभिव्यक्ति स्वतन्त्रतालाई प्राथमिकता दिइएको चर्चा गर्नुभयो ।