काठमाडौं १३ असार । संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज सोमबार बिहान ११ बजे बस्ने भएको छ । आज बस्ने बैठकमा पनि मन्त्रालयका विभिन्न शीर्षकमा छलफलका क्रममा उठेका विषयको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ ।
बैठकमा आज विनियोजन विधेयक, २०७९ अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विषयमा उठेका विषयहरुमा सम्बन्धित मन्त्रीले जवाफ दिने भएका छन् ।
साथै परराष्ट्र मन्त्रालय, खानेपानी मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विषयमा छलफल हुने भएको छ ।
त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमा उठेका विषयमा पनि मन्त्रीहरूले जवाफ दिने कार्य सुची रहेको छ ।