काठमाडौं १ असार । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी ओलीको अहंकार अहिले पनि भएकाले पाँच दलीय गठबन्धन गर्नुपरेको बताएका छन् ।
शनिबार आयोजित पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै खनालले ओलीको पागलपनका कारण दुई पटक प्रतिनिधिसभा विघटन भएको भन्दै यस्तो बताएका हुन् ।
अहिलेसम्मको प्रणालीमा सबैभन्दा ठूलो शक्ति तत्कालीन समयमा नेकपाले आर्जन गरेको भए पनि ओलीको अहंकारले गर्दा ढलेको आरोप लगाएका उनले भने, ‘त्यो संसद् नेकपाको दुई तिहाइको शक्ति थियो ।’,
‘यो अहिले हामीले अङ्गीकार गरेको प्रणालीमा त्यो भन्दा ठूलो शक्ति कहिल्यै आर्जन हुन सक्दैन । तर, केपी ओलीले आफूलाई राजा महेन्द्रकै शैलीमा ढाले । हामी जतिसुकै प्रगतिशील कानून र एजेण्डा ल्याएर पनि पारित गर्न सक्ने सम्भावनाका नजिक थियौँ ।’