काठमाडौं १० असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माअोवादी केन्द्रका अध्यक्ष प्रचण्डले इमान्दारिताका साथ काम नगर्दा पार्टीले विभाजन भएको आरोप लगाएका छन् ।
शुक्रवार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा सहभागी भएका अध्यक्ष ओलीले पार्टी एकताका बेला दिएको सिट संख्यालाई चरम दूरुपयोग गरेर प्रचण्डले आफूलाई साधारण सदस्यबाट समेत निष्कासन प्रति गुनासो पोखेका ओलीले अहिले आफु ले त्यसलाई जोगाएर अघि बढाएको दावी गरेका छन् ।
प्रचण्डलाई आफुले लखेटेको नभई इमान्दारिताका साथ काम नगरी बेइमानपूर्ण ढंगले हटेका आरोप लगाएका ओलीले भने, ‘प्रचण्डसँग त एकता नै गरिएको हो तर प्रचण्डले एकता गर्दा पनि इमान्दारिताका साथ गर्नुभएन । एकताबद्ध रहँदा पनि इमानका साथ काम गर्नुभएन र बेइमानपूर्ण ढंगले हट्नुभयो ।,
‘एकताको निम्ति बनाइदिएको कमिटी, एकताको निम्ति दिइएको संख्या त्यसलाई यति चरम दुरुपयोग गर्नुभयो कि पार्टीको अध्यक्षलाई साधारण सदस्यबाट निष्कासन गर्नुभयो, पार्टी अध्यक्षलाई साधारण सदस्यबाट समेत एकता, अनेकता के गरेको हो ? तपाईंहरू आफैं विचार गर्नुस् । पार्टी अध्यक्षमाथि गम्भीर आरोपको पुलिन्दा बनाउनुभयो उहाँले र ती आरोपका साथ पार्टी विभाजनको खेती गर्नुभयो उहाँहरूले । यो बडो दुःखद् कुरा थियो ।’
पपुलर मत संख्यालाई हेर्ने हो भने अहिले पनि आफ्नो पार्टी नै मुलुकको पहिलो राजनीतिक शक्ति दावी गरेका ओलीले समाजवादको यात्रा तय गर्ने विचार, संगठन र योजना आफ्नो पार्टीसँग मात्रै रहेको दावी समेत गरेका छन् ।