बाढीले मेलम्ची बजारलाई तहसनहस बनाएर कैयौँलाई घरबार बिहिन बनायो, मेलम्ची खानेपानीको मुख्य संरचनाको अवस्था के छ ? — OSNepal

बाढीले मेलम्ची बजारलाई तहसनहस बनाएर कैयौँलाई घरबार बिहिन बनायो, मेलम्ची खानेपानीको मुख्य संरचनाको अवस्था के छ ?

LC (KTM) June 17, 2021 0

सिन्धुपाल्चोक, असार ३। मंगलवार साँझदेखि मेलम्ची नदीमा आएको भीषण बाढीले हेलम्बुको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्समा क्षति पुर्‍याएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीका अनुसार मेलम्ची खानेपानी आयोजनामा काम गर्ने एक चिनियाँ कामदारको शव फेला परेको हो । ‘मेलम्ची खानेपानी आयोजनामा ठूलो क्षति भएको हामीले अनुमान गरेका छौं’, अधिकारीले भने ‘आयोजना स्थलमा पुग्न समस्या रहेकाले कति क्षति भएको हो भन्न सक्ने अवस्था छैन ।’

प्रहरीका अनुसार बुधवार साँझसम्म चिनियाँ नागरिकबाहेक अरुको शव फेला परेको छैन । बेपत्ता भने थुप्रै हुन सक्ने प्रहरीको अनुमान छ । बाढीले तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार क्षतविक्षत बनाएको छ भने बाढीले नाकोते पुल, तिम्बु पुल, फट्टे पूल, मेलम्ची पुल, बाहुनेपाटी पुल समेत बगाएको छ ।

मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले आफूलाई चिनियाँ कामदारको मृत्यु भएको जानकारी नभएको बताए । बाढी पहिरोपछि हेलिकप्टरमार्फत आयोजनास्थलमा गरिएको अवलोकनबाट हेडवक्समा क्षति देखिएको पन्तले बताए । ‘हामीले हेर्डवक्समा बाढीले केहि प्रभाव पारेको देख्यौं’, उनले भने ‘तर स्थायी संरचनामा भने केहि असर नपरेको हाम्रा त्यहाँ रहेका कर्मचारीले बताएका छन् ।’ हेलिकप्टरबाट हेर्दा हेडवक्स बाहेक अरु संरचनाको अवस्था ठीकै देखिएको उनले बताए ।

बुधवार साँझसम्म बाँधस्थलबाट खोला बगिरहेको छ । ‘मुहानस्थलमा जति पनि स्थायी संरचना छन् त्यसमा ठूलो क्षति नपुर्‍याएको प्रारम्भिक निष्कर्ष आयोजनाको छ,’ प्रवक्ता पन्तले भने ‘बाढीले कति क्षति पुगेको भन्ने यकीन तथ्यांक हामीले संकलन गरिसकेका छैनौं ।’ पानीको सतह नघटेसम्म आयोनाको क्षतिबारे प्रष्ट भन्न नसकिने उनले बताए । आर्थिक अभियान दैनिकमा खबर छ ।

बाढीले अम्बाथानमा रहेको सिनो हाइड्रोका कामदार बस्ने क्याम्प बगाएको छ । बाढीका कारण ७ जना कामदार बेपत्ता भएका छन् । चिनियाँ र भारतीय कामदारले काम गरिरहेको मुहानस्थलमा माथिबाट आएको बाढीमा फसेका ४३ कामदारलाई हेलिकप्टरबाट उद्दार गरिएको सिनो हाइड्रोले जानकारी दिएको छ ।

निजी क्षेत्रका हेलिकप्टरमार्फत कामदारको उद्दार गरिएको हो । उद्धार गरिएका घाइतेलाई काठमाडौंको बी एण्ड बी, ग्राण्डी र काभ्रेको धुलिखेल र अस्पतालमा उपचारको लागि लगिएको छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठले बताए । उनका अनुसार घाइतेमध्ये एक चिनियाँ नागरिकको अवस्था गम्भीर छ । उनीहरु बाढी आएपछि भाग्दा घाइते भएको हुनसक्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर