काठमाडौं ९ असार । घुस काण्डमा बुछिएका जिल्ला अदालतका न्यायाधीश र अधिवक्ता रुद्र पोखरेलबीच भएको अडियो सार्वजनिक भएपछि वरिष्ठ अधिवक्ता तथा बार एशोसियसनका पूर्वअध्यक्ष हरिहर दाहालको नाम हुण्डी प्रकरणमा जोडिएको छ ।
कानून व्यवसायी प्रेमसिंह धामीले वरिष्ठ अधिवक्ता दाहाल र अधिवक्ता युवराज भण्डारीमाथि छानबिन गर्न माग गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा निवेदन दिएका छन् । कानुन व्यवसायी धामी आफैले उक्त निवेदन दिएको सार्वजनिक गरेका हुन् ।
उक्त निवेदनमा ललितपरमा भएको जग्गा कारोबारमा ३२ करोड रूपैया हुण्डीबाट भारतलगायतका देशमा गएको र यसमा वरिष्ठ अधिवक्ता दाहाल नै संलग्न रहेको उल्लेख गरिएको छ ।
उक्त ३२ करोड रकम जुनसुकै बैंकको गुड फर पेमेन्ट चेक पेस गरी जग्गा राजीनामा गरी लिनुपर्नेमा ललितपुर मालपोत कार्याल्यका कर्मचारीसँग मिलेमतो गरी डोरमार्फत जग्गा राजीनामा गरेको अख्तियारमा धामीले दिएको निवेदनमा उल्लेख छ ।
साथै, जग्गा मिलाई दिएबापत वरिष्ठ अधिवक्ता दाहाल र अधिवक्ता भण्डारीले कमिसनबापत दुवै पक्षबाट ८ करोड रूपैया प्राप्त गरेको समेत उल्लेख गरेका छन् ।