काठमाडौं ९ असार । नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा वरिष्ठ क्याप्टेन दीपु ज्वारचन नियुक्त भएका छन् । कार्यकारी अध्यक्ष युवराज अधिकारी निलम्बनमा परेपछि रिक्त रहेको निगमको कार्यकारी प्रमुखमा ज्वारचनलाई नियुक्त गरिएको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आलेको मन्त्रीस्तरीय निर्णयबाट ज्वारचनलाई महाप्रबन्धकको कामकाज गर्नेगरी नियुक्ति गरिएको हो । नेतृत्वमा रहँदा समेत उनले जहाजका चालकका हैसियतमा समेत काम भने गर्न पाउने भएका छन् ।
नियुक्ति पत्रमा भनिएको छ, ‘नेपाल वायुसेवा निगम २०१९ को दफा १२ बमोजिम तपाईंलाई नेपाल वायुसेवा निगमको महाप्रबन्धकको कामकाज गर्ने गरी अस्थायी नियुक्ति गरिएको व्यवहोरा निर्णय अनुसार अनुरोध छ ।’
सरकारले युवराज अधिकारीलाई निलम्बन गरेसँगै यो पद रिक्त रहेको थियो ।