काठमाडौं ८ असार । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्र बडूले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएका कारण नेपालमा पनि वृद्धि गर्नुपरेको जानकारी गराएका छन् ।
बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा मन्त्री बडुले पदार्थको मूल्यवृद्धिबारे सदनलाई जानकारी गराउँदै २०७१ सालदेखि नै अन्तर्राष्ट्रिय बजार अनुसार पेट्रोलियम पदार्थको मूल्य बढेर प्राप्त हुँदा नेपालमा पनि बढाउने र घट्दा घटाउने प्रक्रिया शुरू भएको जानकारी दिएका हुन् ।
‘पछिल्लो समय रुस–युक्रेन युद्धका कारण सिर्जना भएको विशिष्ठ ऊर्जा संकटका कारण निगमले प्राप्त गर्ने पेट्रोलियम पदार्थको मूल्य लगभग सबैजसो समय बढेर नै आइरहेको छ, नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट कच्चा तेल खरीद नगरी प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ ।’ मन्त्री बडुले भने ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेको अवस्थामा निगमले हाल आफू घाटामा रही कारोबार गरिरहेको बाध्यात्मक अवस्थाबारे जानकारी गराएका उनले निगमलाई जेठ मसान्तसम्म करीब ५० अर्ब घाटा हुन गएको र इन्डियन आयल कर्पोरेसनलाई बुझाउनुपर्ने २२ अर्ब बक्यौता रहेको बताएका छन् ।
साथै, सरकारले पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति प्रणाली सहज, व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन सरकारले अपनाउनुपर्ने अल्पकालीन र दीर्घकालीन नीति तथा नीतिगत, कानूनी एवं संस्थागत सुधारका लागि विषय समावेश गरी प्रतिवेदन पेश गर्न उच्चस्तरीय अध्ययन कार्यदल समेत गठन गरेको बताएका छन् ।