काठमाडौैं ७ असार । पेट्रोलिय पदार्थमा गरेको मुल्यवृद्धि फिर्ता नभए सम्म विकास निर्माणका काम रोक्ने निर्माण व्यवसायीले चेतावनी दिएका छन् ।
विकास व्यवसायीलाई तत्काल राहत दिने गरी सरकारले मूल्य समायोजन निर्देशिका जारी गर्नुपर्ने माग सहित नेपाल निर्माण व्यवसायी महासंघले देशभर सञ्चालनमा रहेका राष्ट्रिय गौरवका आयोजना र अति आवश्यक निर्माण परियोजना समेत बन्द गरी आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
कन्स्ट्रक्शन होलिडे’का बीच पनि एक हप्ताभित्रै थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न बाध्य हुने चेतावनी दिएको महासंघले विज्ञप्ती नै जारी गरेको छ ।
महासंघका महासचिव रोशन दाहालद्वारा जारी विज्ञप्तिमा इन्धनमा मूल्य वृद्धि भएका कारण मुलुकभर संचालित राष्ट्रिय गौरवका आयोजना एवम् अति जरुरीका निर्माण परियोजनाहरू पनि अब बन्द हुने स्थिति उत्पन्न भएको उल्लेख गरिएको छ ।
‘निरन्तर मूल्य वृद्धि भइरहे पनि सरकारले निर्माण व्यवसायीलाई कुनै राहत दिन नसकेबाट समग्र निर्माण क्षेत्रको विकासप्रति नै सरकारको उदासिनता पुष्टि भएको छ’ विज्ञप्तीमा भनिएको छ ।
सार्वजनिक निकायहरूले बैंक ग्यारेन्टी दाबी गरी ठेक्का तोडी कालोसूचीमा राख्न सिफारिस गर्ने जस्ता कार्य गरेकोमा समेत महासंघले विज्ञप्ती मार्फत आपत्ति जनाएका छन् ।