काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको कारण माग गर्दै नेपाल आयल निगमको ध्यानाकर्ण गराएको छ । राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही एक्लै पुगेर पेट्रोलियम पदार्थमा लाग्ने खर्चका बारे र मूल्यवृद्धिको कारण माग गरेका छन् । उनले निगमलाई एक पत्र हस्तान्रण गर्दै पेट्रोलियम पदार्थको कच्चा मूल्य, शुद्धीकरण चार्ज, कर, भाडा दरलगायतका विषयमा जानकारी माग गरेको उल्लेख गरेका छन् । शाहीले निगमलाई बुझाएको पत्रमा नेपालका भीभीआपीलाई वर्षमा कति तेल उपलब्ध गराइन्छ र निगम कर्मचारीहरूको बोनस कति छ भन्ने प्रश्न पनि रहेको बताएका छन् ।
यसैबिच पेट्रोलियम पदार्थको मूल्यवृद्धिको कुरा संसदमा पनि उठेको छ । सभामुख अग्निप्रसाद सापकोटाले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपर्ने कारणबारे सदनमा जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले सरकारलाई पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपर्ने कारणबारे सदनलाई जवाफ दिन सरकारलाई रुलिङ गरेका हुन् ।
बैठकको सुरुवातमै एमाले सांसद पद्मा अर्यालले मूल्यवृद्धिबारे सदन र जनतालाई सम्बन्धित् मन्त्रीले जवाफ दिनुपर्ने र यसका लागि रुलिङ जारी गर्न सभामुख सापकोटासँग माग गरेकी थिइन् । सरकारले जनतामाथि अत्याचार गरेको भन्दै उनले रुलिङ जारी नभएसम्म बैठक चल्न नसक्ने बताइन् । तत् पश्चात सभामुख सापकोटाले सरकारको नाममा रुलिङ गरेका हुन् ।आयल निगमले सोमबारदेखि लागू हुने गरी पेट्रोलको भाउ लिटरको १९९ र डिजेलको १९२ रूपैयाँ पुर्याएपछि विरोध सुरू भएको छ ।