काठमाडौं ६ असार । पर्यटन व्यवसाय आबद्ध संगठनहरूले पर्यटनमन्त्री प्रेम आलेलाई बर्खास्त गर्न प्रधानममन्त्री शेरबहादुर देउवा समक्ष माग गरेका छन् ।
अश्लील बोलेको अर्को अडिओ बाहिरिएसँगै उनीविरुद्ध नेपाल पर्यटन व्यवसायी संघ, नेपाल पर्यटन व्यवसायी संगठन र नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले संयुक्त विज्ञप्तिमार्फत बर्खास्तको माग गरेका हुन् ।
आफ्ना कार्यकर्ताहरूलाई जागिर नलगाएको भन्दै नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाएर हातपात गर्नुसम्मका दुर्व्यवहारजन्य भएको भन्दै ईतिहासकै बद्नाम मन्त्री भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
‘आफ्ना कार्यकर्ताहरूलाई जागिर नलगाएको भन्दै नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाएर हातपात गर्नुसम्मका दुर्व्यवहारजन्य र मन्त्री प्रेम आले एकपछि अर्को विवादमा मुछिदै स्वयम् त ईतिहासकै बद्नाम मन्त्री भएकै छन् तर सरकार र हामी निजी क्षेत्रले समेत शिर निहुराउनु पर्ने लज्जास्पद अवस्था सृजना भएको छ’, विज्ञप्तिमा भनिएको छ ।
लुम्बिनी विकास कोषको गुरुयोजना अनुसार आध्यात्मिक अभ्यासका लागि छुट्याइएको लुम्बिनी ग्रामको चार बिघा क्षेत्रलाई मन परेको व्यवसाय कम्पनीसँग सीधै प्रस्ताव माग गरेर कुनै प्रक्रिया नै पूरा नगरी व्यावसायिक रिसोर्टको अनुमतिको ठाडो आदेश दिने मन्त्री आलेको नियतमाथि पनि निजी क्षेत्र सशंकित भएको बताइएको छ ।