सिन्धुपाल्चोक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति सम्शेर राणाले सिन्धुपाल्चोक जिल्लाका बाढी पिडित क्षेत्रका जनतालाई तत्काल उद्धार र राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । ‘प्राकृतिक विपत्तिको मारमा परेका जनतालाई तत्काल उद्धार र राहत उपलब्ध गराउन सरकारले कुनै विलम्ब गर्नु हुँदैन ।
अविरल वर्षाबीच जनधनको क्षति र जोखिम कायम रहेकोले आपतकालीन परिचालन गर्न सरकारलाई आह्वान गर्दछु,’ राप्रपा अध्यक्ष राणाले सिन्धुपाल्चोक जिल्लाको बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्ने क्रममा बुधवार भने ।
बाढी प्रभावित क्षेत्रका जनतासँग कुराकानी गर्ने क्रममा राणाले व्यक्तिगत रुपमा आफूले सकेको सहयोग गर्ने प्रतिवद्धता पनि जाहेर गरे । प्राकृतिक प्रकोपमा मृत्यु भएका स्थानीयप्रति श्रद्धान्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरे ।
सिन्धुपाल्चोक जिल्लाका बाढी पिडित क्षेत्रको स्थलगत निरीक्षण गर्ने क्रममा राणा मेलम्ची, तिम्बु, किउल, चनौते, ग्याल्थुम, याङ्ग्री र हेलम्बु लगायतका स्थान पुगेका थिए । दुःखमा परेका जनतालाई सहयोग गर्ने विषयलाई लिएर अध्यक्ष राणाले सभामुख अग्नीप्रसाद सापकोटासँग मेलम्चीमा छलफल गरे । यसैगरी सभामुख सापकोटा, प्रदेश सांसद, नगर प्रमुख लगायतको उपस्थितिमा सर्वपक्षीय वैठक बसेर आपतकालीन निकासका लागि पहल गरे । सो अवसरमा, पिडित जनताको उद्धार र राहत कार्यमा क्रियाशील हुन राप्रपाका स्थानीय निकायहरुलाई अध्यक्ष राणाले निर्देशन दिए ।