काठमाडौँ २ असार । सरकारले कर तिर्नको लागि असार २५ गते सम्मको समय दिएको छ । आन्तरिक राजस्व विभाग निर्देशक एंव सूचना अधिकारी अर्जुन ढकालले जारी गरेको विज्ञप्ति अनुसार मूल्य अभिवृद्धि करको हकमा गत फागुन, चैत र वैशाखको मासिक कर विवरण तथा गत माघ, फागुन, चैत र वैशाख महिनाको द्विमासिक र दोस्रो चौमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण तथा ती विवरण बमोजिमको कर दाखिला गर्ने म्याद असार २५ गतेसम्म तोकिएको हो ।
तोकिएको समय सीमाभित्र शुल्क र ब्याज नलाग्ने उल्लेख सुचनामा उल्लेख गरिएको छ । निषेधाज्ञाको समयमा नै सरकारले जेष्ठ मसान्त सम्म कर तिर्न निर्देशन दिएपछि नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघलगायत विभिन्न उद्योगी व्यवसायी संघ संगठनले विरोध गरेका थिए ।