कोरोनाको ‘हट स्पट’ बनेको दाङमा पनि घटे सङ्क्रमित,अस्पतालहरुमा शय्या खाली हुँदै — OSNepal

कोरोनाको ‘हट स्पट’ बनेको दाङमा पनि घटे सङ्क्रमित,अस्पतालहरुमा शय्या खाली हुँदै

LC (KTM) June 16, 2021 0

दाङ २ असार-करिब महिना दिन अघिसम्म कोरोनाको ‘हट स्पट’ अर्थात् सबैभन्दा बढी प्रभावित क्षेत्रका रुपमा रहेको दाङ जिल्लामा पछिल्लो हप्तामा सङ्क्रमितहरु घटेका छन् । अहिले यस जिल्लामा कोरोनाका सङ्क्रमितको सङ्ख्या घटेको छ र यहाँका अस्पतालका शय्या पनि खाली हुँदै गएका छन् । करिब दुई साता अघिसम्म जिल्लामा कोरोना सङक्रमितको उपचार निकै कठिन थियो । अस्पतालमा शय्या पाउन पनि निकै मुस्किल हुन्थ्यो । अस्पताल परिसरमै विरामी राखेर उपचार गराइएका तस्बिरहरु विभिन्न सञ्चारमाध्यममा आउने गर्दथे भने यहाँका अस्पतालहरुमा कोरोनाका सङ्क्रमितको ज्यान नगएको दिन नै हुदैनथ्यो । शुरुमा अस्पतालमा शय्या मिलाउन र त्यसपछि अक्सिजन जुटाउन झन् समस्या थियो । पछिल्लो समयमा सङ्क्रमित घटेसँगै यी सबै समस्या हटेका छन् भने अस्पतालहरुमा शय्या खाली हुँदै गएका छन् ।

यसको पछिल्लो उदाहरण कोरोना विशेष अस्पताल बेलझुण्डीलाई लिन सकिन्छ । कोरोना सङ्क्रमित बिरामीहरुको उपचारका लागि अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि २५ शय्याको अस्पताललाई एक सय शय्यासम्म पुर्‍याइएको थियो । कैयौँ दिन त शय्या खाली नहुँदा बिरामीलाई अस्पतालको बरण्डामै राखेर उपचार गरिएको थियो । अहिले त्यो कठिन अवस्था पनि हटेको अस्पतालले जनाएको छ । कुनैबेला अस्पतालमा बिरामीका लागि शय्या खाली नहुने अस्पतालमा अहिले ३३ जनामात्र कोरोना सङक्रमित उपचाररत् छन् र उनीहरुमा पनि अक्सिजन या केहीको खाँचो महसुस भएको छैन भन्नुहुन्छ सो अस्पतालका व्यवस्थापक दोणर् वली ।

कोरोना सङ्क्रमण दर घट्दै गएपछि अस्पतालमा आउने सङ्क्रमितको सङ्ख्या समेत घट्दै गएको व्यवस्थापक वलीले जानकरी दिनुभयो । उहाँले भन्नुभयो “गत वैशाख २८ गते यस जिल्लामा मात्र कोरोना सङ्क्रमणबाट १७ जनाको मृ त्यु भएको थियो । त्यस दिन यस अस्पतालमा मात्र आठ जनाको ज्यान गएको थियो ।” त्यस समयमा अस्पतालमा बिरामीलाई शय्या पाउन नै निकै मुस्किल रहेको र अहिले भने अस्पताल आउने बिरामीको सङ्ख्या ४० प्रतिशतले घटेका व्यवस्थापक वलीले बताउनुभयो । उहाँले अस्पतालमा आउने बिरामीहरु मात्र नभएर पछिल्लो समय जिल्लामै सङ्क्रमितको सङ्ख्या घट्दै गएको पनि जानकारी दिनुभयो ।

घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोरोना आइसोलेशन वार्डमा पनि सङ्क्रमित घटेका छन् । जिल्लामा कोरोना सङ्क्रमण दर घटेसँगै अस्पतालमा भर्ना हुने कोरोना सङक्रमित बिरामीको सङ्ख्या समेत घटेको प्रतिष्ठानका व्यवस्थापक राजेन्द्र न्यौपानेले जानकारी दिनुभयो । कोरोना सङ्क्रमित बिरामीका लागि उपचारका लागि बनाइएको ५० शय्यामध्ये अहिले अस्पतालमा पाँच जनामात्र सङ्क्रमित उपचारत अवस्थामा रहेको उहाँले बताउनुभयो

उहाँले प्रतिष्ठानमा अहिले कोरोना परीक्षणको दर घटेसँगै अस्पतालमा भर्ना हुन आउने बिरामीको सङ्ख्या समेत घटेको बताउनुभयो । ‘‘केही समयअघि बिरामीलाई राख्नै मुस्किल हुन्थ्यो तर अहिले त्यस्तो छैन’’, उहाँले भन्नुभयो ‘‘अहिले त अधिकांश शय्या खाली नै छन् ।’’ उहाँले अहिले दैनिक ४० देखि एकसयको हाराहारीमा कोरोना परीक्षण हुने गरेको बताउनुभयो । यता कोरोनाका बिरामीलाई लक्षित गरी तुलसीपुरमा सञ्चालन गरिएको तुलसीपुर मेट्रो आइसोलेशनमा पनि आज ११ जनामात्र कोरोनाका बिरामीहरु उपचाररत् छन् । तुलसीपुरमा कोरोनाका बिरामीहरु अत्यधिक बढ्न थालेपछि गत वैशाख २८ गते सो अस्पताल तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको हो ।

उपमहानगरपालिकाको वडा नं ८को अश्वारामा सञ्चालनमा ल्याएको अस्पताल व्यवस्थापन तथा कोरोना महामारी नियन्त्रणका लागि यहाँका विभिन्न व्यक्ति र सामाजिक संघसंस्थाले पनि सहयोग गरिरहेको उपमहानगरपालिकाले जनाएको छ । यहाँका नागरिकहरुले आर्थिकदेखि अस्पताल व्यवस्थापनमा सहयोग गरेका पनि बताइएको छ । सो अस्पतालका लागि विदेशमा बस्दै आएका तुलसीपुर तथा पश्चिम दाङबासीहरुले पनि सहयोग गरेका छन् ।

नगरप्रमुख घनश्याम पाण्डेको पहलमा स्वदेशी तथा विदेशी संघसंस्थाहरुबाट अक्सिजन कन्सन्ट्रेटरसहित स्वास्थ्य सामाग्री सहयोग प्राप्त भएको छ । यहाँका युवाहरुले अस्पतालको लागि आर्थिक सहयोग अभियान पनि थालेका थिए । आफुहरुले थालेको अभियानबाट रु ११ लाख भन्दाबढी रकम सङ्कलन गरी अस्पताललाई हस्तारण गरेको समाजसेवी पदम पोख्रेलले जानकारी दिनुभएको छ । जिल्लाका १० वटा स्थानीय तहमध्ये तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको सो अस्पताल नमूनायोग्य तथा सुविधायुक्त रहेको यहाँका नागरिकहरु बताउँछन् ।

सो अस्पताल सञ्चालनमा आएदेखि हालसम्म एकसय २९जना कोरोनाका बिरामीको उपचारकालगि आएको अस्पातलका कोभिड ‘फोकल पर्सन’ विमल केसीले जानकारी दिनुभयो । उहाँका अनुसार तीमध्ये ८० जना उपचारपछि निको भएर घर फर्केका छन् । तेत्तीस जनालाई थप उपचारको लागि रेफर गरिएको छ भने पाँच जनाको मृत्यु भएको थियो ।

हाल अस्पतालमा सात जना महिलासहित ११ जना बिरामी उपचाररत छन । पचास शय्याको अक्सिजनसहितको आइसोलेशन अस्पताल गत वैशाख २८ गतेरातीदेखि सञ्चालनमा ल्याइएको हो । “यहाँका नागरिकहरुले स्वतस्फूर्त रुपमा सहयोग गर्नुभएको छ, सहयोगी मनहरुलाई धन्यवाद ज्ञापन गर्दछाँै । सबैले गरेको सहयोगलाई केही दिनपछि पूणर् विवरणसहित सार्वजनिक गर्छौँ” उपप्रमुख माया आचार्यले भन्नुभयो । तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले सहयोगी संस्था र पहलका लागि लाग्ने सबैलाई धन्यवाद दिनुभएको छ ।

नगर प्रमुख पाण्डेले कोरोना विरुद्धको युद्धमा लड्दै जाँदा सहयोग पनि जुट्दै गएकाले आइसोलेशन सञ्चालनमा सफलता प्राप्त गरेको र अहिले सङ्क्रमण दरपनि घट्दो रहेको बताउनुभयो । उहाँले विभिन्न संघसंस्था, सामाजिक अभियन्ता, चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी र नागरिकको सहयोगका कारण कोरोना विरुद्धको अभियानमा लड्न सहज भएको बताउनुभयो । त्यस्तै देउखुरीको लमहीमा रहेको देउखुरी कोरोना विशेष आइसोलेशनमा समेत कोरोना सङक्रमितको सङ्ख्या घट्दै गएको छ । पच्चीस शय्याको आइसोलेशन केन्द्रमा अहिले सात जनामात्र कोरोना सङक्रमितको उपचार भइरहेको सो केन्द्रले जनाएको छ । कुनै बेला एक दिनमा २३ जना सङ्क्रमितले उपचार गराएको यस केन्द्रमा अहिले बिरामी खासै आएका छैनन् त्यस्तै शान्तिनगर गाउँपालिकामा रहेको कोरोना विशेष आइसोलेशनमा अहिले दुईजना मात्र सङक्रमित रहेको शान्तिनगर गाउँपालिकाले जनाएको छ । बीस शय्याको आइसोलेशनमा अहिले दुई जना सङक्रमितलाई राखेर उपचार भइरहेको शान्तिनगर गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले बताउनुभयो ।

यसैबीच जिल्लामा मङ्गलबार १३ जनामा मात्र कोरोना सङक्रमण पुष्टि भएको बताइएको छ । जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र दाङका अनुसार मङ्गलबार ४० जनाको कोरोना परीक्षण गर्दा आठ महिला र पाँच पुरुष गरी १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा ५४ जनाले कोरोनालाई जितेका छन् । योसँगै जिल्लामा वैशाख यता कोरोनालाई जित्नेको सङ्ख्या सात हजार ४२ पुगेको छ भने सङक्रमितको सङ्ख्या सात हजार पाँच सय ९१ पुगेको छ । यसमध्ये दुई सय ७१ जना होमआइसोलेशनमा बसेका छन् । यस्तै ८४ जना संस्थागत आइसोलेशनमा रहेका छन् भने १५ जना आइसियुमा उपचाररत रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा कुनै पनि सङ्क्रमितको मृत्यु नभएको केन्द्रले जनाएको छ । जिल्लामा वैशाख यता हालसम्म कोरोनाबाट एक सय ९४ जनाको मृत्यु भएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर