बायुसेवा सञ्चालक संघ नेपाल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले बीच खटपट सुरु भएको छ । यो खटपट असार १ गते मन्त्री आलेले संंसदमा दिएको अभिब्यक्ति बाट सुरु भएको हो । मन्त्री आलेले संसद बैठकमा ‘प्रेसराइज्ड’को हकमा वायुयानको अवधि १० वर्ष र ‘नन–प्रेसराइज्ड’को हकमा १५ वर्षभन्दा पुराना जहाज भित्र्याउन कानुनी बन्देज लगाउने अभिव्यक्ति दिए लगत्तै संघले आपत्ति जनाएको छ ।
आलेले संसदमा स्वेच्छाचारी अभिव्यक्ति दिएको भन्दै संघले आपत्ति प्रकट गरेको हो । यसै बिषयलाई लिएर संघले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष ‘भर्त्सनापत्र’ बुझाएको छ । प्रधानमन्त्री देउवालाई बुझाएको पत्रमा लेखिएको छ – ‘यस्तो उच्च प्राविधिक तथा संवेदनशील विषयमा व्यवसायी, हवाइ विज्ञ तथा अन्य हवाइ सेवासम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जानकार व्यक्ति तथा संघसंस्थाहरुसँग कुनै सल्लाह सुझाव नै नलिई एकतर्फी रुपमा स्वेच्छाचारी, अव्यावहारिक, तर्कहीन अभिव्यक्ति गरेको देखिन्छ।
एयरलाइन्स व्यवसाय उच्च प्राविधिक तथा अति नै संवदेनशील हुने हुदा प्राविधिक विज्ञहरुसँग कुनै अन्तर्क्रिया तथा संवाद नै नगरी एकतर्फी रुपमा आएको अभिव्यक्तिप्रति यो संघ घोर भर्त्सना गर्दछ।’तर यता प्रावधानको कुरा गर्दा प्रेसराइज्डको हकमा १५ वर्ष र ननप्रेसराइज्डको हकमा २० वर्ष पुरानो जहाज भित्र्याउन सकिने व्यवस्था रहेको छ।