काठमाडौं ३ असार । नेपाली कांग्रेस राष्ट्रियसभाका सांसद प्रकाश पन्थले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) विषयमा निष्ठावान नेता सुशील कोइरालालाई मुछिएको भन्दै खेद प्रकट गरेका छन् ।
शुक्रबार बसेको राष्ट्रियसभाको विशेष समयमा बोल्दै सांसद पन्थले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई (एसपीपी) विषयमा मुछेर जनतालाई भ्रमित पार्ने कोसिस गरिरहेको भन्दै खेद प्रकट गरेका हुन् ।
केपी ओली नेतृत्वको सरकारले अघि बढाएको जिकिर गरेका उनले एमालेलाई आफैं धामी, आफैं झाँक्री’को जस्तो व्यवहार नगर्न चेतावनी समेत दिएका छन् ।
उनले बैठकमा बोल्दै भने, ‘हाम्रा निष्ठावान नेता सुशील कोइरालालाई पनि त्यहाँ मुछ्ने काम भयो। जसको पालामा त्यो भएकै थिएन। त्यो एसपीपी भन्ने सम्झौताको पत्राचार गर्ने कुरा सुशील कोइराला प्रधानमन्त्री भएको बेला भएकै थिएन। तर उहाँको नाम लिएर जनतालाई भ्रमित गर्ने कोसिसहरू भयो। म त्यसप्रति खेद प्रकट गर्न चाहन्छु’
परराष्ट्र तथा कूटनीतिक मामिलामा धैर्यता राख्नुपर्ने जोड दिएका उनले प्रश्न गरे ‘ख्यालै नगरीकन अपराध आफैले गर्ने अनि अर्कोलाई चाँही पोल्ने के?’