काठमाडौँ, २ असार- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी पहिरामा परी हराइरहेका नागरिकको खोजी, उद्धार तथा राहतका लागि सरकारसँग आग्रह गर्नुभएको छ । अध्यक्ष दाहालले आज एक विज्ञप्तिमार्फत पीडितको तत्काल उद्धार, राहतमा जुट्न र राहतलाई प्रभावकारी बनाउन सरकारसँग विशेष आग्रह गर्नुभएको हो । उहाँले बाढी पहिरो प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा खट्नका लागि पार्टीको सम्पूर्ण पङ्क्तिलाई एकीकृृत रूपमा परिचालित हुनसमेत आग्रह गर्नुभएको छ ।
यस्तै, अध्यक्ष दाहालले विपद्मा परेर ज्यान गुमाएका परिवारलाई तत्काल क्षतिपूर्तिको व्यवस्था गर्न, बेपत्ताको खोजी गर्न तथा घाइतेको निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गर्नसमेत माग गर्नुभएको छ । मौसमविद्को पूर्वानुमानको ख्याल नगरी र विगतका प्राकृतिक प्रकोप न्यूनीकरण र रोकथामका उपायहरुको अनुभव समेतको बेवास्ता गर्ने सरकारी रबैयाका कारण पनि जनधनको क्षति भएको अध्यक्ष दाहालको भनाइ छ ।
यस्तै, माओवादी केन्द्रको सहायक सङ्गठन वाइसिएल नेपालले समेत बाढी पहिरो प्रभावितको खोज, उद्धार र राहतमा जुट्न कार्यकर्तालाई निर्देशन दिएको छ । वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा र महासचिव सुबोधराज शेर्पालीले जारी गर्नुभएको विज्ञप्तिमा खोज, उद्धार र राहत कार्यमा जुट्न आग्रह गरिएको छ । (रासस)