काठमाडौं २ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले जारी संसद बैठकमा जवाफ नदिने भएका छन् । बिहिबार बसेको संसद बैठकमा विनियोजनक विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने कार्यक्रम रहेपनि प्रधानमन्त्रीको तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभामा जवाफ दिन सुरु गरेका छन् ।
गृहमन्त्री खाणले देउवाको साट्टौ जवाफ दिन सुरु गरेपछि नेमकिपाका सांसद प्रेम सुवालले प्रधानमन्त्री अनुपस्थित हुनुको कारण माग गर्दै प्रधानमन्त्रीको जवाफ अरुले दिन नमिल्ने भन्दै नियमापत्ति जनाएका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले भने प्रधानमन्त्रीको कार्यव्यस्तताले गर्दाले बैठकमा आउन नसेकेको जानकारी गराएका छन् । देउवा भने आज नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको चेम्बर एक्स्पो उद्घाटनको कार्यक्रममा भाग लिन गएका छन् ।