अभिनय सम्बन्धि विविध क्षेत्रको अध्ययन गरेर नेपाली कला क्षेत्रमा आउने तयारीमा रहेकी छन् स्मृति ओली । त्यसो त उनी सानैदेखि नेपाली कला क्षेत्रसँग जोडिँदै आएकी छन् । झापा स्थायी घर भएकी ओली ‘को बन्छ कलाकार ?’ मा टप फाइनलमा चाइल्ड आर्टिस्टको विनरसमेत हुन । नेपाली टेलिभिजन च्यानल ‘टिभी फिल्मी’ बाट प्रसारण भएको ‘को बन्छ कलाकार ?’ मा कक्षा पाँच मै पढ्दा उनी सहभागी भइन र उत्कृष्ट बाल कलाकारको ‘टाइटल’ जित्न सफल भएकी थिइन ।
बाल कलाकारका रूपमा ओलीले चलचित्र ‘सो सिम्पल’ मा अभिनय गरेकी छन् । यस्तै उनले मिस टिन झापाको उपाधिसमेत चुम्न सफल भएको थियो । पछिल्लो समय केही म्युजिक भिडियोमा अभिनय र मोडलिङ गरिरहेकी उनी ठूलो पर्दामा डेब्यु गर्ने तयारीमा रहेको बताउछिन् । ओलीले यसका लागि आफूलाई पूर्णरूपमा तयारी गरेर यो क्षेत्रमा होमिँदै छन् । यसका लागि उनले मुम्बईमा गएर अध्ययनसमेत गरेकी छन् । उनले अनुपम खेरको एक्टर प्रिपेरमा डिप्लोमाको कोर्ष सम्पन्न गरेकी छन भने अलिसा र अञ्जलीसँग मोडलिङको वर्कसपसमेत गरेर आएकी हुन् । अलिसा र अञ्जलीले अन्तर्राष्ट्रिय ट्रेनरका रूपमा ख्याति कमाएका छन् । मिस युनिभर्सलाई पनि उनीहरूले नै ट्रेनर गरेका हुन् ।
इन्जिनियरको विद्यार्थी रहेकी ओली आफू कला क्षेत्रमा नै केही उल्लेखनीय कार्य गर्ने सोचले यही क्षेत्रमा लाग्ने बताउछिन । तेस्रो सेमेस्टरमा अध्ययनरत उनी जीवनमा पढाइ महत्वपूर्ण रहेको र आफूलाई टेक्निकल फिल्ड मन परेका कारण इन्जिनियरिङको अध्ययन गरिरहेको बताउछिन् । ‘इन्जिनियरिङको विद्यार्थी भए पनि मेरो सानैदेखिको सपना भनेको कला क्षेत्र नै हो,’ उनी भन्छिन् । ‘धेरै तिरबाट कुरा आइरहेको छ तर म राम्रो ब्यानर र राम्रो कथाको खोजीमा छु,’ उनले सुनाइन ।
मुम्बईमा अभिनय तथा मोडलिङसम्बन्धी अध्ययनका समयमा त्यहाँ पनि केही भूमिकाहरूमा अफर आएको बताउने स्मृति इन्जिनियरिङको पढाइका कारण त्यसलाई पूरा गर्न नसकेको बताउछिन् । ‘अब भने म राम्रो तरिकाले डेब्यु गर्ने सोचमा छु,’ उनले भनिन् । ‘म मेरो पहिलो ठूलो पर्दाको चलचित्रमार्फत् एउटा छाप छोडन चाहन्छु,’ आफ्नो योजना सुनाउँदै स्मृतिले भनिन् । उनले नेपाली कला क्षेत्रको समृद्धिमा कति इँटा थप्नेहुन, त्यो त भविष्यमा उनले यो क्षेत्रमा पुर्याउने योगदानले नै बताउनेछ तर अहिले भने उनी पूर्ण तयारीका साथ यो क्षेत्रमा केही उल्लेखनीय कार्य गरौँ आएकी छन् । ‘आत्मविश्वास र दृढ इच्छाशक्तिले अहिलेको स्थानसम्म आइपुगेकी हुँ, भविष्यमा पनि राम्रो काम गर्नेछु,’ उनी भन्छिन् ।