काठमाडौं १ असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले दिएको अभिव्यक्तिप्रति बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको सचिवालयलको ध्यानाकर्षण भएको छ ।
बागमती प्रदेश सरकारले हेटौंडामा स्थानीय जनप्रतिनिधिहरूका लागि गरेको दुई दिने अभिमुखीकरण कार्यक्रम सञ्चालनका क्रममा मुख्यमन्त्री पाण्डेले काठमाडौं र काठमाडौंबासीलाई गाली गरेका कारण मेयर शाह काठमाडौं फर्किएको कुरा गलत जनाएको छ ।
मुख्यमन्त्री सचिवालयका स्वकीय प्रमुख सचिव उमेश रूपाखेतीले दिएको जानकारी अनुसार अर्थमन्त्री शालिकराम जम्कट्टेलले फोहोर व्यवस्थापन र ल्यान्डफिल साइटबारे कुरा उठाउँदा मेयर आक्रोशित भएर प्रस्तुत भएको जनाएका छन् ।
काठमाडौं महानगरले आफ्नो फोहोर आफैं व्यवस्था गर्नुपर्ने र बञ्चरेडाँडामा फालेर धादिङ र नुवाकोटका जनतालाई पीडा दिन नहुने भन्दै जम्कट्टेलले बताएका थिए ।
बालेन कार्यक्रमको बिचमै नभई एक घण्टा अगाडी मात्र निस्किएको सचिवालयले जनाएको छ । बालेनले सो कार्यक्रमका लागि एक घण्टाको लागि मात्र समय दिएका थिए ।