काठमाडौं ३१ जेठ । परराष्ट्रमन्त्री डा।नारायण खड्काले अमेरिकाले प्रस्ताव गरेको इन्डोप्यासिफिक स्टार्टेजीलाई सैन्य गठबन्धन नभएका स्पष्ट पारेका छन् ।
मंगलबार बसेको संसद बैठकमा एसपीपीको विषयमा प्रश्न उठेपछि जवाफ दिने क्रममा मन्त्री खड्काले इन्डोप्यासिफिक स्टार्टेजी मानवीय सहयोगका लागि बनेको एउटा कार्यक्रम मात्र भएको बताएका छन् ।
इन्डोप्यासिफिक कुनै औपचारिक एलायन्स नभएको स्पष्ट पारेका उनले इन्डियन ओसियनबाट वेस्ट ओसियनसम्मको एउटा कनेक्सन मात्र भएको बताएका छन् ।
दुईवटा महासागर इन्डियन ओसियन र पश्चिम प्रशान्त महासागरमा पर्ने भू–भागलाई जोड्ने कन्सेप्ट नै इन्डोप्यासिफिक भनिने भन्दै उनले भने , ‘यो नेपाललाई सैन्य गठबन्धनमा लिने सम्झौता हो कि भनेर प्रश्न उठिरहेको छ । हिजो एमसीसी पारित गर्दा पनि हामीले इन्डो प्यासिफिक स्ट्राटेजीका कुरा गर्यौँ,‘इन्डो प्यासिफिक कुनै फर्मल एलायन्स केही पनि होइन । इन्डियन ओसियनबाट वेस्ट ओसियनसम्मको एउटा कनेक्सन हो ।’
संसद बैठकमा जवाफ दिने क्रममा खड्काले अघि भने , ‘यो भागमा रहेका करिब २४ वटा देशहरूसँग एउटा खुला व्यापार, सार्वभौमताको सम्मान गर्ने यी कुराहरूलाई लिएर बनेको एउटा लुज अर्गनाइजेसन हो‘,मैले बुझेअनुसार फर्मल ट्रिटी केही पनि होइन । त्यसअन्तर्गत पहिले एमसीसी र अहिले एसपीपी’
विभिन्न देशका सैन्य संरचनासँग सहकार्य गरेर प्राकृतिक प्रकोप तथा मानवीय प्रकोपविरुद्ध लड्ने यसको लक्ष्य भएको बताएका उनले पार्टनरसिप भन्नेबित्तिकै ट्रिटी नभएको बताएका छन् ।
‘साझेदार अस्थायी खालको एउटा कन्सेप्ट हो । कुनै एउटा खास मिसनपछि जान्छ । केही समय बस्छ,यहाँ कुनै मिलिटरी आएकै छैन ।’ उनले भने ।