काठमाडौं ३१ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेका छन् ।
अर्थमन्त्री पदमा बसिरहन नैतिक रुपमा नमिल्ने भन्दै आज बसेको संसद बैठकमा एमालेका सांसदले अर्थमन्त्री शर्माको राजीनामा माग गरेका हुन् ।
बजेट संसदमा प्रस्तुत गर्नुभन्दा अगाडि अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेर करको दर हेरफेर गरेको भन्ने विषयमा प्रश्न उठ्दा पनि अर्थमन्त्रीले जवाफ नदिएको भन्दै आज बसेको संसद बैठकको सुरुमै एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले शर्माको राजीनामा माग गरेका हुन् ।
‘यति गम्भीर विषयमा प्रश्न उठेपछि अर्थमन्त्री त्यो पदमा बस्नको लागि सक्षम हुनुहुन्छ रु लायक हुनुहुन्छ ? यसको जवाफ संसदलाई चाहिन्छ ।’ उनले जवाफ मागेका छन् ।
करको विषय राष्ट्रिय सुरक्षा जस्तै विषय भएकोले यस्ता गोपनीयताहरु बाहिर सार्वजनिक गर्ने, अझ गोपनियताहरुमा साँठगाँठ र मिलेमतो गर्ने जस्ता कुराहरु गम्भीर अपराध मानिने उनले बताएका छन् ।
अर्थमन्त्रीले अब नैतिक हिसाबले त्यो जिम्मेवारीमा बस्न मिल्दैन भन्दै उनले भने,‘करको विषय ज्यादै गोपनीय विषय हो, राष्ट्रिय सुरक्षा जस्तै विषय हो, राष्ट्रिय स्वार्थको विषय हो । यस्ता गोपनीयताहरु बाहिर सार्वजनिक गर्ने, अझ गोपनियताहरुमा साँठगाँठ र मिलेमतो गर्ने जस्ता कुराहरु गम्भीर अपराध मानिन्छन् । त्यसबारेमा छानबिन हुनुपर्दछ । मन्त्रीले नैतिक हिसाबले त्यो जिम्मेवारीमा बस्न मिल्दैन भन्ने मलाई लाग्दछ ।’
साथै, उनले यसका विषयमा प्रधानमन्त्रीको शेरबहादुर देउवाको ध्यानाकषर्ण समेत गराएका छन् ।