काठमाडौं ३० जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आगामी मंसिरमा नै हुने बताएका छन् ।
सोमबार बर्दियाको बेलभारमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले चुनाव एकै चरणमा सम्पन्न गर्नेबारे पनि छलफल भन्दै यस्तो जानकारी गराएका हुन् ।
प्रतिपक्षको पनि मंसिरको पहिलो हप्ता वा कात्तिकको अन्तिममा नै निर्वाचन गर्नुपर्छ भन्ने कुरा भएकोले गर्दा प्रधानमन्त्री लगायत गठबन्धनमा आफुहरुले छलफल गर्दा पनि मंसिरको पहिलो हप्तामा हुने नै बढी सम्भावना देखिएको प्रचण्डले बताएका छन्।
‘त्यसकारण हामी कोही पनि कन्फ्युजन हुन पर्दैन, चुनाव मंसिरमा हुन्छ ।’उनले भने ।
चुनाव दुई चरणमा हुन्छ कि एक चरणमा भन्ने पनि छलफल भइरहेको बताएका उनले जसरी स्थानीय तहको निर्वाचन एकै चरणमा देशैभरी सम्पन्न गर्न सम्भव भयो त्योभन्दा त प्रदेश र संघको पनि सहज हुने हुनाले पनि एकैचोटी गर्ने कि भन्ने पनि छलफल भइरहेको प्रचण्डले बताएका छन् ।
उनले भने, ‘तर फेरि सेक्युरिटीको हिसाबले, अरु हिसाबले दुई चरणमा गर्ने कि भन्ने कुरा चलेको छ । जे भए पनि मंसिरमा नै चुनाव सम्पन्न हुन्छ ।’