काठमाडौ ३० जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीले महँगीमाथि महँगी थोपरेर सरकारले जनताको ढाड भाँच्ने काम गरेको बताएका छन् ।
पाँचथरको मौवामा सम्पन्न तुम्बेवा गाउँपालिका स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन प्रवक्ता लावतीले यस्तो बताएका हुन् ।
डिजेल पेट्रोल मात्र नभएर, प्रत्येक उपभोग्य सामाग्रीको बजार भाउ आकासिँएको बताएका उनले भने, ‘तीन तहमा लादिएको करको भार त छँदै थियो, अब त दिनानुदिन बढ्दो महँगीले आम जनजीवन कष्टप्रद बनेको छ’ ।
अहिलेको अवस्थामा आम नागरिकको दैनिकी कहाली लाग्दो भएको भन्दै उनले जनताद्वारा जनताका लागि निर्वाचित जनताको सरकार कानमा तेल हालेर मूकदर्शक भएर बसेको आरोप समेत लगाएका छन् ।