काठमाडौं । राजधानीको सडक गल्लीमा थुप्रिएको सबै फोहोर १० दिनभित्र उठाइने भएको छ । काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागले शुक्रबार १ सय ५३ र शनिबार करिब २ सय ५० ट्रक फोहोर बन्चरे ल्यान्डफिल साइटमा खसालेको थियो । कामपा बन्चरेडाँडा ल्यान्डफिल साइटका इन्जिनियर सरकारद्वीप श्रेष्ठले अब दैनिक करिब ३ सय ट्रिपर फोहोर विसर्जन गर्ने जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार बिहान १ बजे स्थानीय र कामपाबीच १८ बुँदे सहमति भएलगत्तै सडकमा थुप्रिएको फोहोर ल्यान्डफिल साइटमा लगिएको हो । मौसमले साथ दिएमा अबको १० दिनभित्र उपत्यकाको सबै सडकमा थुप्रिएको फोहोर ल्यान्डफिल साइटमा व्यवस्थापन गरिसक्ने उहाँको दाबी छ ।
कामपाले स्थानीयसँग सम्झौता भएलगत्तै सबै वडा कार्यालयलाई तत्काल फोहोर उठाउने व्यवस्था गर्न निर्देशन दिएको थियो।सोहीअनुसार सबै वडाले फोहोरमैला व्यवस्थापनलाई पहिलो प्राथमिकता दिएको हो ।कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईले कामपाको पहिलो प्राथमिकता फोहोर व्यवस्थापन रहेको बताउँदै भन्नुभयो– ‘स्थानीयको माग कार्यान्वयन प्रक्रियासँगै निरन्तर रूपमा फोहोरमैला व्यस्थापन जारी रहनेछ ।’ उहाँका अनुसार बढीमा १० दिनभित्र उपत्यकाको फोहोरमैला व्यवस्थापन भइसक्नेछ । उहाँले बाटोमा थुप्रिएको र घरबाट फोहोर उठाउन काम निरन्तर रहने बताउनुभयो ।यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।
शहरी विकास मन्त्री रामकुमारी झाँक्री र कामपाले स्थानीय संघर्ष समितिका संयोजक श्रीराम ढुंगाना, ककनी गाउँपालिका, धुनिबेंसी नगरपालिकाका वडा अध्यक्षसहितको बैठकमा भएको सहमतिअनुसार उपत्यकाको फोहोर उठाउन शुरू भएको हो । स्थानीयले सहमतिअनुसार काम नभए फेरि फोहोर रोक्ने चेतावनी दिएका छन् ।
स्थानीय संघर्ष समितिका संयोजक ढुंगानाने १८ बुँदे सम्झौताअनुसार तोकिएको समयमा निर्णय कार्यान्वयन नभए पुनः आन्दोलनमा उत्रने चेतावनी दिँदै भन्नुभयो– ‘हामीले टाइमलाइन तोकेका छौं, त्यसबेलासम्म पनि काम नभए फेरि आन्दोलनमा उत्रनेछौं ।’शुक्रबार बिहान १ बजे भएको सम्झौतामा एक महिनाभित्र गाडीबाट फोहोरमैलाको फोहोर पानी ९लिचेड० नबग्ने गरी फोहोर ढुवानी गर्न सवारी साधन व्यवस्था गर्ने, ३ महिनाभित्र सडक र बत्तीको व्यवस्थापन गर्ने, दुई महिनाभित्र लिचेडको वैज्ञानिक व्यवस्थापन गर्ने, ३ महिनाभित्र बन्चरे डाँडा वरपरका घरटहरा क्षतिपूर्तिसम्बन्धी निर्णय गर्ने उल्लेख छ ।