भुत प्रेत लगाएको भन्दै महोत्तरी सदरमुकाम जलेश्वरमा दुई महिलामाथि निर्मम तरिकाले कुटपिट भएको छ । जलेश्वर नगरपालिका ६ धबौली निवासी ५३ बर्षीया कालोदेवी र ५४ बर्षीया दुलरिया देवीलाई स्थानीय केही व्यक्तिले भुत प्रेत खन्याउने बोक्सी भन्दै कुटपिट गरेका हुन् । स्थानीय सोमारी देवीसहितका स्थानीयले उनीहरु माथि हात, लाठी र लात्तीले निर्मम तरिकाले कुटपिट गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ ।
दुबै महिलामाथि जेठ २६ गते बिहान कुटपिट भएको प्रहरीले बताएको छ । घटनामा संलग्न दुई जनालाई पक्राउ गरिसकिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सोही ठाउँका ४५ बर्षीय भुलन राम र २८ बर्षीया सोमनी भनिने सोमारी देवी छन् । उनीहरुबिरुद्ध बोक्सीको आरोप लगाई कुटपिट गरी ज्यान मार्ने उद्योग शीर्षकमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।