काठमाडौं २७ जेठ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद रामवीर मानन्धरले मेसिन खरिद नगरी काठमाडौं उपत्यकाको फोहोर बञ्चरे डाँडामा विसर्जन गर्न नदिने बताएका छन् ।
शुक्रबार शहरी विकास मन्त्रालयमा भएको ल्याण्डफिल्ड साइड बञ्चरे डाँडा र सरकारवाला निकायहरुबीचको छलफलमा सांसद मानन्धरले फोहोर व्यवस्थापन गर्ने मेसिन खरिद नगरी बञ्चरे डाँडामा फोहोर व्यवस्थापन गर्न नदिने बताएका हुन् ।
सरकारले मेसिन खरिद गरेपछि मात्र फोहोर फाल्न दिइने बताएका उनले भने, ‘सरकारले मेसिन खरिद गर्नुपर्छ । सरकारले निर्णय गर्छ मेसिन खरिदको भने फोहोर फाल्न दिइन्छ, होइन भने अर्को विकल्प छैन । मेसिन किनेपछि स्थानीयको गुनासोको कुरा गरौँला ।’
सबैभन्दा बढी फोहोरको गन्ध आफुलाई आउने बताएका उनले आफ्नो घरछेउमा जहिल्यै फोहोरका ट्रक राखेको भन्दै आफ्नै घरबाट शुरु गरे के होला सरकारले भन्दै प्रश्न गरेका छन् ।
‘मेसिन ल्याउनुस्, मेसिनको लागि निर्णय गर्नुस्, एकल निर्णय गर्नुस् । मेसिन नै समस्याको सबैभन्दा उत्कृष्ट विकल्प हो । होइन भने त्यो ठाउँमा कुनैपनि हालतमा १६ वडाबाट जाने हो । शुरु मेरो घरबाट हो । त्यहीँबाट रोकिन्छ फोहोर चाहीँ ।’उनले भने ।