काठमाडौं २७ जेठ । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले मन्त्री फेर्ने आफ्नो पार्टीको निर्णय तत्काल कार्यान्वयन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।
पार्टीले गरेको मन्त्री हेरफेरको निणर्य प्रधानमन्त्री देउवाले तत्काल कार्यान्वयन नगरेको भन्दै आपत्ती समेत जनाएका छन् ।
शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता खनालले पार्टीले मन्त्रीहरुलाई हेरफेर गर्ने निर्णय गरिसकेकाले गठबन्धन सरकारले त्यसलाई तुरुन्त कार्यान्वयन गर्नुको विकल्प नरहेको बताएका हुन् ।
‘मैले धेरै पटक यसको जवाफ दिइसके । यसमा हाम्रो पार्टीको तर्फबाट गम्भीर आपत्ति छ । यो तुरुन्त लागू हुनुपर्छ । नेकपा एकीकृत समाजवादीले गर्नुपर्ने निर्णय गरिसकेको छ । यसलाई गठबन्धन सरकारले तुरुन्त कार्यान्वयन गर्नुपर्छ । अरु कुनै विकल्प छैन ।’ उनले भने ।