काठमाडौं २७ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान तोडमोड गरेर आफुले प्रतिगमन नगरेको दावी गरेका छन् । प्रतिनिधिसभाको नयाँ चुनाव गर्नु भनेको, नयाँ संसद बन्नु हो भनेका ओलीले यसलाई प्रतिगमन भन्न नमिल्ने बताएका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले संसद विघटन गरी चुनाव नै नगरी प्रजातन्त्र दरबारमा बुझाएको त्यो चाँही प्रतिगमन भएको दावी गरेका ओलीले नयाँ संसद बन्नु प्रतिगमन नभएको जिकिर गरेका हुन् ।
संविधान तोडमोड गरेर प्रतिगमन गरेको आरोप लागेको थियो, अहिले त्योभन्दा पनि बढी भएको हो रु भन्ने पत्रकारहरुको प्रश्नमा ओलीले भने, ‘माओवादीको सरकार थियो । माओवादीले संविधान बनाउनका लागि संविधानसभा बनाएको थियो । संविधान नबनाइकन विघटन गर्यो । चुनाव गराएन । देश अस्तव्यस्त बनायो । यति कृत्रिम बाटोबाट हामीले अर्को संविधानसभा चुनाव गरायौं । त्यस्तोलाई भन्छ प्रतिगमन ।’
शुक्रबार विराटनगरमा पत्रकारहरु सँगको कुराकानीमा ओलीले संविधान बङ्ग्याएको मात्र नभई तोडमोड, भाँचकुच, च्यातचुत धेरै भएको आरोप समेत लगाएका छन् । यसलाई आफुले विस्तारै सिधा बनाउँदै जाने पनि बताएका छन् ।
अब के हुन्छ संघको चुनावमा ? भन्ने प्रश्नमा ओलीले भने,’स्थानीय चुनावको कुरा बेग्लै हो । यसले नै सबै निर्वाचनको परिणाम तय गर्छ भन्ने छैन । स्थानीय तहको परिणाममा सिट संख्याको हिसाबले दोस्रो भयौं । ६ दल मिले । ,
‘कुनै राजनीतिक सिद्धान्तविना प्रतिक्रियावादी गठबन्धनको एउटै मात्र उद्देश्य भनेको देशभक्त, लोकतान्त्रिक विकासमुखी पार्टी नेकपा एमालेलाई जसरी पनि हराउनुपर्छ भन्ने थियो । धेरै स्थानमा जित्ने कुरामा अलिकति पछाडि पर्यौं होला, तर हाराहारीको स्थितिमा छ । पपुलर भोटमा फेरि पनि अगाडि छौं । एमाले एमाले नै हो ।’