पछिल्लो समय बतास समुह बिबादमा मुछिदै आएको छ । सिंहदरबार भित्र होस् या पशुपतिनाथको क्षेत्र भित्र बनाइएका भवनहरु हुन् यी सबै संचालनमा बिबाद सिर्जना हुदै आएको छ । अब यसैक्रममा नेपाल–भारत मैत्री पशुपति धर्मशाला भवन छाड्न पशुपति क्षेत्र विकास कोषले बतास समूहलाई एक साताको ‘अल्टिमेटम’ नै दिएको छ । पशुपति एरियामा करोडौको लगानीमा खोलिएको होटल आनन्दलाई कोषका सदस्यसचिव मिलनकुमार थापाले पत्र पठाएरै छाड्न भनेका हुन् ।
होटल आनन्दलाई बुधबार पठाइएको पत्रमा जेठ मसान्तभित्र धर्मशाला खाली गरेर साँचो बुझाउन अल्टिमेटम दिइएको छ । होटल आनन्दलाई ०७६ जेठ १ गते करार सम्झौता गरी कोष आफैले धर्मशाला भाडामा दिने संझौता गरेको थियो । तर, कोषले करार सम्झौताहरुको गम्भीर उल्लंघन भएको जनाएको छ । कोष र बतास समुहबीच भएको करार संझौता ०७८ चैत १४ गते बतास रद्द भइसकेको छ । कोषले एकाएक आफु संग गरेको सम्झौता रद्द गरेको भन्दै बतास समूह अदालतको ढोका सम्म पुगेको थियो ।
काठमाडौं जिल्ला अदालतले गत बुधबार बतास समूहलाई धर्मशालामा होटल सञ्चालन गर्न दिन यसअघि जारी गरिएको अन्तरकालीन आदेश बदर गरेसँगै करार रद्द गर्ने कोषको निर्णय कार्यान्वयनका लागि बाटो खुल्ला भए संगै कोषले अल्टिमेटम सहितको पत्र पठाएको हो । कोषले बतास समूहलाई जेठ मसान्तसम्मको बाँकी बहाल लगायतका भुक्तानी गर्नुपर्ने रकम तिरेर हिसाब फरफारक गराउनुका साथै सम्झौताविपरीत भएका कामका कारण कोषलाई पर्न गएको हानी(नोक्सानी पनि तिर्न समुह संग भनेको छ ।