गण्डकी- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव कान्नी विंगाराजा नेतृत्वकोे टोलीबीच मुख्यमन्त्री कार्यालयमा आज औपचारिक भेट भएको छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को एशिया प्यासिफिक रिजनल ब्युरो डाइरेक्टरसमेत रहनुभएकी कान्नीसँगको भेटमा मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेश देशको पर्यटकीय राजधानी भएकाले पर्यटन क्षेत्रको समग्र विकासमा सहकार्य गर्नेे इच्छा व्यक्त गर्नुभयो । “सङ्घीयताको सुदृढीकरण, सेवा प्रवाहको प्रभावकारिता, जनप्रतिनिधि तथा कर्मचारीको क्षमता अभिवृद्धि, तथ्याङ्क तथा अभिलेख व्यवस्थापन र अनुभवको आदानप्रदानमा यहाँहरूको सहयोगको अपेक्षा मैले गरेको छु”, उहाँले भन्नुभयो । गण्डकी प्रदेश सरकारले युएनडिपीसँगको सहकार्यमा ‘दिगो पर्यटन पुनरुत्थान परियोजना’ सञ्चालन गर्न नेपाल सरकारले स्वीकृति दिएको जानकारी गराउँदै उहाँले युएनडिपीको कार्यालय पोखरामा खोल्न आग्रह गर्नुभयो ।
सहायक महासचिव विंगाराजाले दिगो पर्यटन विकासका लागि नेपालसँग सहकार्य गर्न आफूहरू तयार रहेको बताउनुभयो । ‘दिगो पर्यटन पुनरुत्थान परियोजना’ सञ्चालनका लागि नेपाल सरकारले अनुमति दिएकामा उहाँले खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “साझा समस्या समाधान गर्न साझा प्रयत्न जरुरी छ । गरिबी, भोकमरी अन्त्यका लागि दिगो विकासका लक्ष्य हासिल गर्न सबैले सँगै यात्रा गर्नुपर्छ ।”
मुख्यमन्त्री पोखरेलले सुशासनको प्रत्याभूति, सङ्घीयताको सुदृढीकरण र विकासका कार्यमा प्रदेश सरकारको ध्यान केन्द्रित भएको बताउँदै भन्नुभयो, “हामी अहिले कोभिडले थला पारेको सामाजिक तथा आर्थिक अवस्थालाई पुनरुत्थान गर्न अग्रसर छौँ । विषम परिस्थिति पार गर्दै गर्दा स्वास्थ्य, शिक्षा र समग्र विकास प्रणालीलाई फरक ढङ्गबाट सम्बोधन गर्नका लागि आवश्यक तयारी थालिसकेका छौँ ।” पर्यटन, उद्योग, कृषि आदिको पुनरुत्थानका लागि गण्डकी सरकारले काम आरम्भ गरिसकेको उहाँले बताउनुभयो । दिगो विकास लक्ष्यलाई आन्तरिकीकरण गरी कार्यान्वयनमा लैजानुका साथै दिगो विकास लक्ष्य हासिल गर्न नसकिने हुँदा यसको स्थानीयकरणको कार्य थालेको उहाँले बताउनुभयो ।
मुख्यमन्त्री पोखरेलले मित्रराष्ट्र फ्रान्सले दशकौँदेखि नेपालको विकासमा पु¥याउँदै आएको सहयोगका लागि राजदूतमार्फत् फ्रान्स सरकार र फ्रान्सेली जनताप्रति हार्दिक आभार व्यक्त गर्नुभयो ।
यसैगरी नेपालले विकासका विविध आयाम र प्रविधिमा दक्षिण कोरियाबाट सहयोग पाउनुका अतिरिक्त नेपाली श्रमिकले त्यहाँ सेवा गर्ने अवसर पाएको मुख्यमन्त्रीले बताउनुभयो । गण्डकी विश्वविद्यालय र गण्डकी प्रदेश प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानले कोइकासमक्ष राखेको प्रस्तावबारे उहाँले स्मरण गराउनुभयो । इसिमोडले गरेको अनुसन्धान नेपालका लागि उपयोगी हुँदै आएको भन्दै मुख्यमन्त्री पोखरेलले पर्वतमालाको संरक्षण र वातावरण संरक्षणमा इसिमोडले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।
मुख्यमन्त्री पोखरेल, सहायक महासचिव विंगाराजासहितको टोलीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरमा वृक्षरोपण गरेको छ । साङ्केतिकरूपमा गमलामा रोपिएका बिरुवा उपयुक्त ठाउँमा सारेर चौतारी निर्माण गरिने पर्यटनमन्त्री कँडेलले जानकारी गराउनुभयो । सहायक महासचिवसहितको टोलीले आज पोखराको सराङकोट, अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयलगायत स्थानको अवलोकन गरेको छ ।
उक्त अवसरमा नेपालका लागि फ्रान्सका राजदूत गिल्स बौरबाओ, नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमका नेपाल प्रतिनिधि आइसाने मेडागान्गोडा लाबे, इसिमोडका महासचिव एवं कोइकाका नेपाल प्रतिनिधिलगायत सहभागी हुनुहुन्थ्यो । गण्डकी प्रदेशका तर्फबाट पर्यटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेल, नीति तथा योजना आयोगका उपाध्यक्ष डा रघुराज काफ्ले, प्रमुख सचिव रविलाल पन्थ, सचिव ज्ञानेन्द्र पौडल, मुख्यमन्त्रीका राजनीतिक सल्लाहका खड्गबहादुर कमालको सहभागिता थियो ।