काठमाडौ २६ जेठ । नुवाकोटको बञ्चरेडाँडामा फोहोर फ्याल्ने विवादको विषयमा शुक्रबार सरकार र आन्दोलनरत समूहबीच वार्ता हुने भएको छ ।
सोमबार भएको सहमतिमा पनि स्थानीयले फोहोर फ्याल्न नदिएपछि मंगलबार र बुधबार प्रहरी र स्थानीयबिच तनावको स्थिति भएको थियो । प्रहरीले तीन जनालाई पक्राउ समेत गरेको थियो ।
बुधबार पक्राउ परेका उनीहरु आज २२ घण्टा पछि रिहा भएका छन् । रिहा भए लगत्तै भोली शुक्रबार सहरी विकास मन्त्री रामकुमारी झाँक्री, आन्दोलनरत संघर्ष समितिका संयोजक श्रीराम ढुंगाना, फोहोरमैलाबाट प्रभावित नुवाकोट र धादिङका वडाध्यक्ष, नुवाकोटका कांग्रेस नेता प्रकाशशरण महत लगायतको टोलीले वार्ता गर्ने भएको छ ।
आज पनि फोहोरको गाडी रोकेपछि सहरी विकास मन्त्रालयले बञ्चरेडाँडा संघर्ष समिति र वडाका प्रतिनिधिसमेतलाई राखेर शुक्रबार नै वार्ता गर्न लागेको हो। वार्ता बिहान ८ बजे मन्त्रालयमा हुने भएको छ ।